• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रभावकारी कार्यसक्षमता नदेखिए मन्त्री बदल्ने प्रधानमन्त्रीको चेतावनी

    212
    SHARES



    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको क्षमता प्रभावकारी नदेखिए परिवर्तन हुनसक्ने चेतावनी दिएका छन् ।

    बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकमा बोल्ने क्रममा उनले मन्त्री परिवर्तन हुनसक्ने संकेत गर्दै प्रभावकारी रुपमा काम गर्न प्रष्ट निर्देशन दिएका छन् ।

    कुनै पनि मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए समीक्षा गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरुवा मात्रै नगरेर कारबाही गर्नुपर्ने उनले बताए ।

    ‘हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा वा सूचना प्रविधि आदिका क्षेत्रमा हामीले नयाँ क्रान्तिकारी काम के गर्न सक्छौँ भनेर सोच्नुपर्ने भएको छ । राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन । प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ । काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो । हामी सरकारमा भएको उपादेयता हुनुपर्‍यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘तल्लो वर्गसम्म कसरी लाभ दिन सकिन्छ ? बन्द भएका उद्योगहरु के गर्ने हो ? हामीले चलाउन सक्दैनौँ भने चलाउन सक्नेलाई चलाउन किन नदिने ? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरु किन राख्ने ?’

    अब अल्याङटल्याङ गर्ने समय नभएको, मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए सोच्नुपर्ने बेला भएको र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्ने समय रहेको बताए ।

    स्रोतको सुनिश्चितताविना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै उनले बजेटको समीक्षा गर्न सकिने तर काम गर्नै शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्ने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया