काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी–सुटआउटमा ४–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । यसअघि खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसलगत्तै नेपाल गरेका गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् ।
त्यसपछि विवाद हुँदा खेल केही समय रोकिएको थियो । रोकिएको खेल सुरु हुनासाथ नेपालको तर्फबाट सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी भएको थियो । त्यसपछि पेनाल्टी–सुटआउटमा ४–२ गोलले भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालले उपाधिको लागि बंगलादेशसँग भिडन्त गर्ने छ । आइतबार नै भएको अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । अघिल्लो संस्करणको फाइनल खेलमा पनि नेपाल र बंगालदेशबिच नै उपाधि भिडन्त भएको थियो । अघिल्लो संस्करणमा फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो ।
प्रतिक्रिया