अहिले बच्चाका लागि खेलौना जस्तै भएको छ स्मार्टफोन । आमाबुवा व्यस्त छन् । बालबच्चासँग हाँस्ने, खेल्ने समय छैन । कतिपय आमाबुवा बच्चासँग समय बिताउन अल्छी मान्छन्, झर्को मान्छन् । बच्चालाई भुलाउन, खुसी बनाउन, खेलाउनका लागि स्मार्टफोन दिने गर्छन् ।
स्मार्टफोन पाएपछि बच्चा खुसी हुन्छन् ।
बच्चालाई खुसी राख्न पनि आमाबुवाले स्मार्टफोनको साहारा लिने गरेका छन् । जब बच्चाले खाना खान अरुची गर्छन्, स्मार्टफोनको लोभ देखाएर खाना ख्वाइन्छ । जब बच्चाले कुनै काम गर्न जाँगर चलाउँदैनन्, स्मार्टफोनको लोभ देखाएर काम गर्न लगाइन्छ । जब बच्चा झगडा गर्छन्, स्मार्टफोन दिएर फकाइन्छ । जब बच्चा चकचक गर्न थाल्छन्, स्मार्टफोन दिएर थमथमाइन्छ ।
यसरी बच्चाको लागि सबैभन्दा लोभलाग्दो खेलौना भएको छ, स्मार्टफोन ।
स्मार्टफोन पाएपछि बच्चाहरु दंग पर्छन् । त्यहाँ युट्युबमा भिडियो हेर्छन्, गेम खेल्छन् । पूर्व किशोरवयमा पुगेकाहरु फेसबुक, टिकटकमा समेत रमाउँछन् । हत्केलाभरको स्मार्टफोन पाएपछि बालबच्चाले आफ्नो संसार भुल्छन्, आफैलाई भुल्छन् । उनीहरुले भोक लागेको भेउ पाउँदैनन्, दिसा पिसाब आएको पत्तो पाउँदैनन्, आफ्नो वरीपरी के भइरहेको छ थाहापत्तो पाउँदैनन् । स्क्रिनमा एकोहोरिन्छन् ।
तर, यस किसिमको प्रवृत्ति कति घातक छ ? अभिभावकले ख्याल नगरेका हुनसक्छन् । बच्चालाई स्मार्टफोन दिएपछि फकाइफुल्याइ गर्न त सहज हुन्छ, तर यसले बच्चाको शारीरिक एवं मानसिक विकासमा नराम्रो ठेस पुर्याउछ ।
सामान्यतः एकै ठाउँ घण्टौंसम्म बसिरहँदा बच्चाको शारीरिक गतिविधि कम हुन्छ । उनीहरुको शारीरिक विकासमा अवरोध पुग्छ । सामाजिक जीवन पनि उत्तिकै ध्वस्त हुन्छ । किनभने उनीहरु आफन्त, परिवार, साथीभाईसँग घुलमिल गर्दैनन्, अन्र्तक्रिया गर्दैनन् ।
यसबाट अर्को क्षति उनीहरुको बौद्धिक विकासमा हुन्छ । स्मार्टफोनले बच्चामा पार्ने असरका बारेमा विभिन्न अध्ययन भएका छन् । ति अध्ययनहरुको निचोडले देखाउँछ, ‘स्मार्टफोनले बच्चाको वौद्धिक क्षमता कमजोर बनाउँछ ।’
यसको असर उनको जीवनभर रहन सक्छ । उनीहरुमा केही मानसिक विकार पनि पैदा हुने जोखिम रहन्छ । एक अध्ययन अनुसार दिनमा दुई घण्टा बढी स्क्रिनमा समय बिताउने बच्चाको वौदिक विकास राम्ररी हुन पाउँदैन । उनीहरुको तर्क क्षमता, व्यवहारिक ज्ञान कम हुन्छ ।
कुनैपनि समस्याको समाधान गर्ने गुण पनि विकास हुन पाउँदैन । स्मार्टफोनमा तल्लिन रहने बच्चाहरु एकोहोरो, जिद्दी, रिसाह भएको पाइएको छ । उनीहरु कुनैपनि कुरामा ध्यान केन्द्रित गर्न असमर्थ हुन्छन् ।
युनिस केनेडी श्राइवर नेशनल इन्स्टिच्युट अफ चाइल्ड हेल्थ एन्ड ह्युमन डेभलोपमेन्ट लगायतका संस्थाहरुले गरेको अध्ययनले सो कुरा बाहिर ल्याएको हो ।
प्रतिक्रिया