• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवागढी हाइड्रोका ९३ कर्मचारी अझै सम्पर्कविहीन, जंगल र पहाडमा खोजी तीव्र

    377
    SHARES



    काठमाडौँ । बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल र पहाडी क्षेत्रमा समेत विस्तार गरिएको छ।

    बाढीबाट जोगिन आयोजनाको विद्युत्गृहबाट बाहिर निस्किएर जंगल तथा माथिल्लो क्षेत्रमा भागेको हुन सक्ने आशंकामा सम्भावित स्थानहरूमा खोजी गर्न दक्ष र अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो।

    कम्पनीले आफ्नै पहलमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला क्याम्प तथा आसपासका जंगल क्षेत्रमा ग्राउन्ड सर्च गरिरहेको जनाएको छ। त्यसका लागि हिमालय समिट क्लब प्रालिको आठ सदस्यीय टोली परिचालन गरिएको छ।

    कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार टोलीले टिमुरे क्षेत्रमा प्रारम्भिक खोजी गरेपछि हेलिकप्टरमार्फत घट्टेखोला पुगेको थियो। शनिबार बिहान ७ः३० बजेदेखि टोलीले सम्भावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएको थियो।

    ‘बाढी आउँदा कोही भागेर माथि जंगलतिर गएर बसेको हुन सक्ने अनुमान गरेर खोजी गरिरहेका छौँ,’ न्यौपानेले भने, ‘भागेर जंगलतिर गएकाहरू धेरैजसो सम्पर्कमा आइसकेका छन्। तर भाग्ने क्रममा चोटपटक लागेर हिँड्न नसक्ने अवस्थामा कोही कतै अड्किएका छन् कि भनेर खोजी गरिरहेका हौँ।’

    बाढीका क्रममा आयोजनास्थलबाट भागेर जंगल तथा माथिल्लो क्षेत्रमा पुगेका केही व्यक्ति यसअघि नै सम्पर्कमा आइसकेका छन्। तर चोटपटकका कारण जंगलमै फसेका वा हिँड्न नसक्ने अवस्थामा रहेका व्यक्ति हुन सक्ने आशंकामा खोजीलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

    यसअघि शनिबार नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकी गरेको थियो। बिहान ९ः२० बजेदेखि विद्युत्गृहभित्र समेत खोजी तथा उद्धार प्रयास गरिएको थियो। तर विद्युत्गृहभित्रबाट सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको अवस्था पत्ता लाग्न सकेन।

    त्यसपछि कम्पनीले सम्भावित बाहिरी क्षेत्र, विशेषगरी जंगल, पहाडी भूभाग र बाढीबाट जोगिन मानिस भाग्न सक्ने सम्भावित बाटोमा खोजीलाई प्राथमिकता दिएको हो। रक क्लाइम्बर टोलीले अप्ठ्यारो भौगोलिक क्षेत्र तथा मानिस ओत लाग्न सक्ने सम्भावित स्थानमा समेत खोजी गरिरहेको छ।

    कम्पनीका पूर्वकर्मचारी तथा वरिष्ठ भूगर्भविद् एवं टनेल विज्ञ विष्णु शिवाकोटीसहित नेपाली सेनाको उद्धार टोली चारवटा हेलिकप्टरमार्फत आयोजनास्थल पुगेको थियो।

    उद्धार टोलीले भग्नावशेष हटाउँदै विद्युत्गृहभित्र प्रवेश गरेर कन्ट्रोल रुम आसपास तथा विभिन्न स्थानमा खोजी गरेको थियो। तर कन्ट्रोल रुम पूर्णरूपमा हिलो तथा लेदोले पुरिएको अवस्थामा रहेको र बाढीले ल्याएको माटो, लेदो तथा काठका टुक्रा ईओटी क्रेनको लेभलभन्दा माथिसम्म पुगेको पाइएको कम्पनीले जनाएको छ।

    विद्युत्गृहभित्र ४ देखि १४ जनासम्म फसेको हुन सक्ने अनुमान गरिए पनि शनिबारको खोजीका क्रममा कोही पनि फेला परेनन्। उद्धार टोली अहिले विद्युत्गृहबाट बाहिर निस्किसकेको छ।

    बाढीका कारण आयोजनामा कार्यरत ९३ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्। आयोजनामा कार्यरत सात जनाको भने यसअघि नै उद्धार भइसकेको कम्पनीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ