• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल भ्रमणमा सतर्क रहन अमेरिकाको आग्रह, रसुवाका केही क्षेत्रमा ‘नो ट्राभल’

    311
    SHARES



    काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालसम्बन्धी आफ्नो ट्राभल एडभाइजरी अद्यावधिक गर्दै नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘लेभल २ : बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। तर, रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘लेभल ४ : यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ।

    अमेरिकी विदेश मन्त्रालयले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकातर्फ यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ। उक्त क्षेत्रमा ठूलो बाढी र पहिरोका कारण व्यापक क्षति पुगेको, यातायात तथा सञ्चार सेवा प्रभावित भएको र खोज, उद्धार तथा पुनःस्थापनाका काम अझै जारी रहेकाले जोखिम उच्च रहेको एडभाइजरीमा उल्लेख छ।

    यात्रा सुझावमा प्रभावित क्षेत्रमा थप बाढी तथा पहिरोको जोखिमसमेत कायमै रहेको जनाइएको छ। जोखिमयुक्त क्षेत्रअन्तर्गत भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीहरू समेत रहेको उल्लेख गर्दै अमेरिकी विदेश मन्त्रालयले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन यात्रुलाई सुझाव दिएको छ।

    त्यस्तै, नेपाली अधिकारीहरूले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न अमेरिकी नागरिकलाई आग्रह गरिएको छ। हराइरहेका आफन्त वा व्यक्तिको खोजी गर्ने उद्देश्यले सर्वसाधारण वा विदेशी नागरिक आफैं विपद् प्रभावित क्षेत्रमा प्रवेश नगर्नसमेत चेतावनी दिइएको छ।

    अमेरिकी विदेश मन्त्रालयले नेपाललाई नियमित रूपमा भूकम्प, बाढी तथा पहिरोको जोखिममा रहने मुलुक का रूपमा उल्लेख गरेको छ। भूकम्प पूर्वसूचनाबिनै आउन सक्ने र त्यसबाट काठमाडौँ उपत्यकासमेत प्रभावित हुन सक्ने भन्दै यात्रुलाई सावधानी अपनाउन सुझाव दिइएको छ।

    विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण आकस्मिक बाढी तथा पहिरो आउन सक्ने र त्यसले सडक अवरुद्ध गर्नुका साथै भवन तथा पूर्वाधारमा क्षति पुर्‍याउन सक्ने अमेरिकी विदेश मन्त्रालयको भनाइ छ। यस्तो अवस्थामा उद्धार तथा आकस्मिक सहायता प्राप्त गर्नसमेत कठिन हुन सक्ने चेतावनी दिइएको छ।

    यात्रा एडभाइजरीमा नेपालको स्वास्थ्य तथा आकस्मिक उपचार सेवाको क्षमता सीमित रहेको समेत उल्लेख छ। काठमाडौँका अस्पताल अन्य क्षेत्रको तुलनामा तुलनात्मक रूपमा राम्रो भए पनि अस्पतालमा भीडभाड हुने, आवश्यक उपकरण तथा औषधिको अभाव हुन सक्ने र उपचार सुरु गर्नुअघि नै शुल्क मागिन सक्ने अवस्था रहेको जनाइएको छ।

    विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था नरहेको भन्दै अमेरिकी नागरिकलाई आफूलाई आवश्यक पर्ने औषधि साथमै लैजान तथा यात्रा स्वास्थ्य बीमा गर्न सुझाव दिइएको छ।

    नेपाल भ्रमण गर्ने निर्णय गरेका आफ्ना नागरिकलाई अमेरिकी सरकारले स्थानीय सञ्चारमाध्यमबाट तत्कालीन सूचना तथा विपद्सम्बन्धी समाचार नियमित रूपमा हेर्न र परिस्थिति परिवर्तन भएमा यात्रा योजना आवश्यकताअनुसार परिवर्तन गर्न आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ