• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    अमेरिकाको आक्रमणपछि इरानद्वारा कुवेत, बहराइन र जोर्डनका अमेरिकी सैन्य अड्डामा हमला

    194
    SHARES



    काठमाडौँ । अमेरिकी हमलापछि इरानले पनि मध्यपूर्वमा रहेको उसका सैन्य अड्डाहरूमा हवाई हमला गरेर जबाफ दिएको छ। बहराइन, कुवेत र जोर्डनमा इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हमला गरेको थियो।

    बहराइनमा रहेको अमेरिकी नौसेनाको मध्यपूर्व कमान्ड सेन्टर फिफ्थ फ्लिटलाई लक्ष्य गरेको छ। बहराइनमा बिहानैदेखि साइरन बजिरहेको भनेर कतारी मिडिया अल जजिराले लेखेको छ। कुवेतको अमेरिकी सैन्य अड्डा तिर बिहानैदेखि साइरन बजिरहेको छ।

    बहराइनको गृह मन्त्रालयले देशभर साइरन बजाइएको पुष्टि गर्दै नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा जान आग्रह गरेको छ। तत्काल कुनै क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

    इरानको अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार आईआरजीसीले बहराइनको शेख इसा अमेरिकी हवाई अड्डास्थित हेलिकोप्टर मर्मत केन्द्र, पी–८ पोसाइडन गस्ती विमान राखिएको ह्याङ्गर तथा अमेरिकी ड्रोन कमाण्ड एन्ड कन्ट्रोल केन्द्रमा आक्रमण गरिएको दाबी गरेको छ।

    आईआरजीसीले आफ्नो प्रतिशोधात्मक कारबाही जारी रहने चेतावनी पनि दिएको छ। इरानको विदेश मन्त्रालयले पछिल्लो २४ घण्टामा अमेरिकाले गरेको सैन्य आक्रमणको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र युद्ध अपराधको संज्ञा दिएको छ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर भएको २५ दिनमै अमेरिकाले त्यसका लगभग सबै प्रावधान उल्लंघन गरेको छ। इरानको यातायात पूर्वाधार, माछा मार्ने जहाज, मालवाहक बार्ज र मौसमसम्बन्धी संरचनामाथि आक्रमण गरेर अमेरिकाले गम्भीर युद्ध अपराध गरेको छ।’

    इरानले पर्सियन खाडीको दक्षिणी तटका केही मुलुकहरूको भूमि र सैन्य सुविधा प्रयोग गरेर अमेरिकाले आक्रमण गरेको आरोप पनि लगाएको छ। मन्त्रालयले इरानमा अमेरिकी हमलाई सहायता गर्ने कुनै पनि देशमा आक्रमण गर्ने चेतावनी दिएको छ।

    अमरिका र इरानबीच तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ। सीएनएनका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य ३.९२ प्रतिशत बढेर प्रतिव्यारेल ७८.९९ डलर पुगेको छ भने अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई) ३.४४ प्रतिशत बढेर ७३.८७ डलर प्रतिव्यारेल पुगेको छ।

    यद्यपि इरानले जहाजहरूलाई ओमानको तटीय मार्गजस्ता वैकल्पिक समुद्री मार्ग प्रयोग नगर्न चेतावनी दिएको छ। नौसैनिक परामर्शदाताहरूका अनुसार ओमानको दक्षिणी समुद्री मार्ग भने अझै सञ्चालनमा रहेको छ।

    यसैबीच अमेरिकाले इरानमाथि गत बुधबारदेखि सुरू भएयताकै ठूलो मध्येको आक्रमण गरेको जनाएको छ। सोमबार बिहान अमेरिकाले इरानमा तीन घन्टा लामो आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    स्ट्रेट अफ हर्मुजको विषयलाई लिएर विवाद बढेपछि अमरिका र इरानबीच बुधबारदेखि हानाहान हुँदै आएको छ। सोमबार बिहान २:४५ देखि ५:४५ बजेसम्म अमेरिकाले इरानमा हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

    अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले सोमबार बिहान आक्रमण सम्पन्न भएको भनेर पनि एक्समार्फत जानकारी दिएको छ।

    यसपटकको आक्रमणमा लडाकू विमान, नौसैनिक युद्धपोत, एकतर्फी रूपमा आक्रमण गर्न प्रयोग हुने ड्रोन हानिएको सेन्टकमले जनाएको छ। अमेरिकाले पहिलो पटक समुद्री ड्रोन पनि प्रयोग गरी इरानका दर्जनौं लक्ष्यमा सटिक प्रहार गरेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ