बंगलादेशका विद्यार्थी नेता तथा इंकलाब मञ्चका संयोजक शरीफ उस्मान हादीको हत्या प्रकरणमा प्रमुख अभियुक्तका रूपमा फैसल करीम मसूदको नाम अगाडि आएको छ।
बंगलादेशी प्रहरीका अनुसार उस्मान हादीमाथि गोली प्रहार गर्ने घटनामा संलग्न दुई जनाको पहिचान भइसकेको छ। प्रहरीका अनुसार ती दुई व्यक्ति फैसल करीम मसूद र मोहम्मद आलमगीर शेख हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार फैसल र उनका सहयोगी आलमगीर शेखले हादीलाई गोली हानेपछि अर्को देशमा शरण लिएको दाबी गरिएको छ। तर बंगलादेश प्रहरीको ‘डिटेक्टिभ ब्रान्च’ ले औपचारिक पुष्टि गरेको छैन।
बंगलादेश प्रहरीले बिबिसीलाई दिएको जानकारीअनुसार, हादी हत्या प्रकरणमा मसूद र आलमगीर शेखका परिवारका केही सदस्यसहित १३ जनालाई पक्राउ गरिएको छ।
तर अहिलेसम्म प्रहरीसँग मसूद र उनका सहयोगी आलमगीर शेख कहाँ छन् भन्ने विषयमा ठोस जानकारी छैन। सामाजिक सञ्जालका धेरै पोस्टहरूमा उनीहरू भारत भागेको दाबी गरिएको बिबिसीले लेखेको छ।
शरीफ उस्मान हादी १२ डिसेम्बरमा ढाकामा भएको गोलीकाण्डमा गम्भीर घाइते भएका थिए। उनलाई उपचार निम्ति सिंगापुर पठाइएको थियो। उपचारकै क्रममा डिसेम्बर १८ मा उनको मृत्यु भयो।
उनको मृत्युपछि बंगलादेशभर व्यापक प्रदर्शन र हिंसात्मक घटना भएका थिए।
को हुन् फैसल करीम?
बिबिसीका अनुसार अनुसन्धान अधिकारीहरूले फैसल करीम मसूदले नै हादीमाथि गोली चलाएको निष्कर्ष निकालेका छन्।
बंगलादेश प्रहरीको डिटेक्टिभ ब्रान्चका प्रमुख शफिकुल इस्लामले बिबिसीलाई भनेका छन्, ‘सामाजिक सञ्जालमा हादीको हत्यापछि फैसल करीम मसूद भारत भागेको भन्ने पोस्टहरू देखिएका छन्, तर ती कुराको पुष्टि भएको छैन।’
उनले अगाडि भने, ‘फैसल देशबाट भाग्न सक्ने अवस्था पनि छैन, किनकि उनको पासपोर्ट ब्लक गरिएको छ।’
हादी हत्या प्रकरणमा बंगलादेशको ‘र्यापिड एक्सन बटालियन’ र प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरिसकेका छन्।
पक्राउ पर्नेमा मसूदका आमाबुबा, पत्नी, पत्नीका दाजु तथा मसूदकी एक प्रेमिका पनि छन्।
यसअघि मसूदले मोबाइलमार्फत आफ्नी पत्नी, पत्नीका दाजु र प्रेमिकासँग पटक पटक कुरा गरेको खुलेको छ। ती तीन जनालाई सोधपुछका लागि ९ दिनको हिरासतमा पठाइएको छ।
यसका साथै आक्रमणअघि र पछाडि विभिन्न तरिकाले सहयोग गरेको आरोपमा अरू आठ जनालाई पनि पक्राउ गरिएको छ।
ढाका महानगर प्रहरीका अनुसार र्यापिड एक्सन बटालियनले हादीमाथि आक्रमणमा प्रयोग गरिएको मोटरसाइकलका वास्तविक मालिक भनिएका अब्दुल हन्नानलाई पक्राउ गरेको छ।
मोटरसाइकलको दर्ता नम्बरका आधारमा हन्नानलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको थियो।
हन्नानले प्रहरीलाई आफूले उक्त मोटरसाइकल पहिले नै बेचिसकेको र त्यसपछि त्यसबारे कुनै जानकारी नभएको बताएका छन्।
प्रहरीका अनुसार शंकास्पद व्यक्तिहरूले हेलमेट लगाएर अत्यन्त नजिकबाट उस्मान हादीमाथि गोली प्रहार गरेका थिए।
यसैबीच बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यूले वाणिज्य बैंकहरूलाई उस्मान हादी हत्या प्रकरणका शंकास्पद फैसल करीम मसूद र उनको आइटी कम्पनी ‘एप्पल सफ्ट आइटी लिमिटेड’ का सबै बैंक खाता फ्रिज गर्न निर्देशन दिएको छ।
बिबिसीका अनुसार प्रहरीले फैसल करीम मसूद र उनका सहयोगी आलमगीर शेख प्रतिबन्धित संगठन छात्र लिगको राजनीतिसँग आबद्ध रहेको जनाएको छ।
छात्र लिग शेख हसीनाको पार्टी अवामी लिगको विद्यार्थी संगठन हो, जसलाई सन् २०२४ अक्टोबरमा प्रतिबन्ध लगाइएको थियो।
को हुन् शरीफ उस्मान हादी, जसको हत्याले बंगलादेश फेरि धकेलियो अशान्तितर्फ
गत वर्षको विद्यार्थी आन्दोलनसँग जोडिएका युवा नेता शरीफ उस्मान हादीको हत्यापछि देशभर फैलिएको हिंसाले आमनिर्वाचनको संघारमा रहेको बंगलादेशको राजनीतिक अवस्था कति नाजुक छ भन्ने देखाएको छ।
हादीलाई गत शुक्रबार ढाकाको एक मस्जिदबाट निस्कँदै गर्दा गोली हानिएको थियो। गोली टाउकोमा लागेपछि उनी गम्भीर घाइते भएका थिए।
त्यसपछि उनलाई डिसेम्बर १५ मा एयरलिफ्ट गरेर उपचार निम्ति सिंगापुर लगिएको थियो, जहाँ बिहीबार उनको मृत्यु भयो।
उनको मृत्युपछि राजधानी ढाकासहित देशका विभिन्न भागमा विरोध प्रदर्शन, आगजनी र प्रहरीसँग झडप भएका छन्, जसका कारण सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ।
गत वर्ष अगस्टमा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये हादी एक थिए।
उनको जन्म सन् १९९३ जुन ३० मा दक्षिणी बंगलादेशको झालोकाठी जिल्लाको नालछिटीमा भएको थियो। उनी धार्मिक शिक्षामा जोड दिने परिवारमा हुर्किएका थिए। उनका पिता स्थानीय मदरसा शिक्षक तथा इमाम थिए।
उच्च शिक्षाका लागि राजधानी ढाका पुगेका हादी ढाका विश्वविद्यालयमा अध्ययनकै क्रममा विद्यार्थी राजनीति र सामाजिक आन्दोलनतर्फ आकर्षित भए।
बेरोजगारी, भ्रष्टाचार र सरकारी संस्थाहरूमा सरकारको हालिमुहालीविरूद्ध आवाज उठाउने क्रममा उनी राजनीतिक रूपले सचेत हुँदै गएको बंगलादेशी सञ्चार माध्यमहरूले जनाएका छन्।
विद्यार्थी आन्दोलनबाट उठेर राष्ट्रिय राजनीतिमा पहिचान बनाएका हादीको लोकप्रियता सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनले चुलिएको थियो। उनी शेख हसिनाविरोधी इंकलाब मञ्चका सदस्य थिए।
इंकलाब मञ्च विद्यार्थी आन्दोलन क्रममा चर्चामा आएको थियो। यो समूहलाई कट्टरपन्थी संगठन भनिएको छ। यसले अवामी लिगलाई कमजोर पार्ने प्रयासहरूमा अग्रसर भूमिका खेलेको थियो।
यही आन्दोलनले लामो समयदेखि सत्तामा रहेकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारविरोधी असन्तोषलाई सार्वजनिक विस्फोट गराएको थियो।
ढाका विश्वविद्यालयका स्नातक हादी आफ्नो तीखो र स्पष्ट अभिव्यक्तिका लागि परिचित थिए। उनी विद्यार्थी र युवा अभियन्ताहरू एकत्रित गर्ने राजनीतिक मञ्च ‘इंकलाब मञ्च’ का प्रमुख आयोजकमध्ये एक थिए र त्यसका प्रवक्ताका रूपमा चिनिन्थे।
उनका भाषण र सामाजिक सञ्जालका अभिव्यक्तिले खासगरी सहरी युवामाझ ठूलो समर्थन पाएको थियो। उनी बंगलादेशको राजनीतिमा भारतको अत्यधिक प्रभावलाई लिएर कडा आलोचना गर्थे। समर्थकहरूले उनको अभिव्यक्तिलाई राष्ट्रिय स्वाधीनताको पक्षमा उठेको आवाज माने, जसले त्यति बेलाको विद्यार्थी आन्दोलन चर्काउन ठूलो भूमिका खेल्यो।
त्यही आन्दोलनको बलमा उदाएका हादी पछिल्लो समय औपचारिक राजनीतिमा प्रवेश गर्ने तयारीमा थिए।
उनले सन् २०२६ फेब्रुअरीमा हुने भनिएको संसदीय निर्वाचनमा ढाका–८ निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए। गोली आक्रमण हुँदा उनी ढाका–८ सिटबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरिरहेका थिए।
विद्यार्थी आन्दोलनमा भूमिका भए पनि मोहम्मद युनुस सरकारले उक्त मञ्च विघटन गरेको थियो र राष्ट्रिय चुनाव लड्न प्रतिबन्ध लगाएको थियो। त्यही भएर हादीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।
चुनाव प्रचार क्रममा इ-रिक्सामा यात्रा गरिरहेका बेला अज्ञात समूहले नजिकबाट गोली हानेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार हत्यारा मोटरसाइकलमा आएका थिए र गोली हानेर फरार भएका थिए। त्यसलगत्तै हादीलाई ढाका मेडिकल कलेज अस्पताल लगिएको थियो। अवस्था बिग्रँदै गएपछि एभरकेयर अस्पताल सारियो। त्यहाँ पनि उनको अवस्थामा सुधार नआएपछि सिंगापुर लगिएको थियो।
यो घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। इंकलाब मञ्चले गोली हान्नेहरूलाई पक्राउ गरी कारबाही गर्न अन्तरिम सरकारलाई २४ घन्टाको अल्टिमेटम दिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार शनिबार हादीको अन्त्येष्टि क्रममा भएको सभामा इंकलाब मञ्चका सचिव अब्दुल्ला अल जाबेरले सरकारसँग प्रश्न गरे, ‘हादीका हत्यारालाई पक्राउ गर्न सरकारले के गरिरहेको छ?’
उनले अगाडि भने, ‘यो मुद्दा अघि बढाइएन भने गृह मामिला सल्लाहकार मोहम्मद जहांगीर आलम चौधरी र प्रमुख सल्लाहकारका विशेष सहायक खुदा बख्श चौधरीले २४ घन्टाभित्र राजीनामा दिनुपर्नेछ।’
उस्मान हादीका भाइ अबू बक्र सिद्दिकीले राजधानीमा दिनदहाडै हादीलाई गोली हानी हत्या गरेपछि हत्यारा कसरी भाग्न सके भनेर प्रश्न उठाएका छन्।
‘सात–आठ दिन बितिसक्दा पनि हत्यारालाई किन पक्राउ गर्न सकिएको छैन? म उस्मान हादीका हत्यारालाई छिट्टै पक्राउ गरी मुद्दा चलाइयोस् भनी माग गर्छु,’ उनले भने।
हादीको निधनको खबर सार्वजनिक हुनासाथ ढाकासहित देशका विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन सुरू भएको थियो। प्रदर्शनकारीहरूले सडक अवरूद्ध गरे, सवारी साधनमा आगजनी गरे र सञ्चारमाध्यम तथा राजनीतिक कार्यालयहरूलाई निशाना बनाए। केही स्थानमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेर भीड नियन्त्रण गरेको थियो।
ढाकाका धानमन्डी, शाहबागसहित विभिन्न स्थानमा विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका थिए। बंगलादेशका दुई प्रमुख अखबारका कार्यालय पनि आक्रमणमा परेका थिए। उनीहरूले ‘प्रोथोम आलो’ र ‘द डेली स्टार’ अखबारका कार्यालय, धानमन्डी-३२ स्थित शेख मुजीबको घर र छायानट संस्कृति भवनमा आक्रमण गरी आगजनी र तोडफोड गरे।
यस अतिरिक्त चटगाँव, राजशाही र अन्य धेरै क्षेत्रमा पनि विभिन्न स्थानमा आक्रमण भए। भारतीय सहायक उच्चायुक्तको निवास अगाडि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। स्थानीय पत्रकारहरूले बताएअनुसार भीडले उच्चायोगमाथि ढुंगामुढा गरेको थियो।
यसका साथै अपदस्थ अवामी लिग सरकारका पूर्वशिक्षामन्त्री मोहिबुल हसन चौधरी नौफेलको घरमा तोडफोड गरियो र आगो लगाइयो।
मोहम्मद युनुसले बिहीबार राति नै राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई धैर्य राख्न आग्रह, कुनै पनि प्रकारका ‘प्रचार र अफवाह’ मा ध्यान नदिन र हतारमा निर्णय नगर्न अनुरोध गरेका थिए।
युनुसले हत्यामा संलग्न सबैलाई यथाशीघ्र न्यायको कठघरामा ल्याइने र उनीहरूलाई अधिकतम सजाय दिलाइने बताएका थिए। उनले मृतक हादीकी पत्नी र एक मात्र सन्तानको जिम्मेवारी सरकारले लिने जानकारी पनि दिए।
हादीलाई अन्तिम विदाइ गर्न राजधानी ढाकामा शनिबार मानव सागर उर्लिएको थियो। बंगलादेशको अनलाइन ‘द डेली स्टार’ का अनुसार दसौं हजारौं मानिस संसद भवन परिसरमा जम्मा भएका थिए। २१५ एकड क्षेत्रफलमा फैलिएको संसद परिसरमा शोक व्यक्त गर्न उर्लिएको मानव सागर समेटिन हम्मे हम्मे परेको थियो।
भीड संसद भवन परिसर छेउको मनिक मिया एभेन्यूसम्म फैलिएको थियो, जुन सहरका सबभन्दा फराकिला सडकमध्ये एक हो।
हादीको अन्त्येष्टि दक्षिण प्लाजामा सम्पन्न भयो। उनको शव राष्ट्रिय झन्डाले ढाकिएको थियो। अन्तिम विदाइमा सरिक बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले हादी ‘अमर सहिद’ भएको बताए।
‘ओ प्रिय उस्मान हादी, हामी यहाँ तपाईंलाई विदाइ दिन आएका होइनौं। तपाईं हाम्रो हृदयमा हुनुहुन्छ र जबसम्म बंगलादेश अस्तित्वमा छ, तपाईं सबै बंगलादेशीको हृदयमा रहनु हुनेछ। हाम्रो हृदयबाट तपाईंलाई कसैले हटाउन सक्दैन,’ उनले भने।
हादीलाई उनको मनपर्ने कवि काजी नज्रुल इस्लामको समाधि नजिक ढाका विश्वविद्यालय केन्द्रीय मस्जिदको आसपास अन्त्येष्टि गरिएको थियो। अन्तिम विदाइमा सरिक हुन आएका विभिन्न पृष्ठभूमिका मानिसले हादीको आत्माको शान्तिका लागि प्रार्थना गरे। धेरैले आँसु झारे।
उनीहरू सबै एउटै नारा लगाउँदै थिए, ‘हामी सबै हादी हुनेछौं, हामी लड्नेछौं।’
मिरपुरका ४० वर्षीय व्यापारी अब्बास उद्दिनले हादी कति लोकप्रिय व्यक्ति थिए भन्ने उनको अन्त्येष्टिमा उर्लिएको मानव सागरले नै प्रमाणित गर्ने बताए।
‘मैले कहिल्यै यति ठूलो भीड देखेको थिइनँ,’ उनले भने।
अन्त्येष्टिमा सहभागी हुन आउने भीडले कम्तिमा तीनवटा मेट्रो ट्रेन भरिएको थियो। धेरै यात्रुले मेट्रोमा खुट्टा राख्ने ठाउँ नभएर चढ्नै सकेनन्।
भीड सम्हाल्न ढाका महानगर प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेका थिए। तीमध्ये हजार जनाभन्दा बढीले आफ्नो शरीरमा क्यामरा प्रयोग गरेको महानगर प्रहरीले जनाएको छ। शरीरमा क्यामरा र दंगा नियन्त्रण उपकरणसहित उनीहरू संसद भवन र सहरका अन्य प्रमुख स्थानमा तैनाथ थिए।
बिहीबारजस्तै हिंसा भड्किने खतरा देखेर सीमा सुरक्षा बलका २० पल्टन राजधानीभर तैनाथ गरिएको थियो।
शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशी समाजभित्रका विभाजन सतहमा आएका छन्। समर्थकहरू उनलाई युवा पुस्ताको आवाज, सुधार र राजनीतिक परिवर्तनका निडर प्रतिनिधि मान्छन्। आलोचकहरू भने उनको राजनीतिले कट्टरतालाई बढावा दिएको तर्क गर्छन्।
तर एउटा कुरा स्पष्ट छ — हादीको हत्या बंगलादेशको संवेदनशील राजनीतिक घडीमा भएको छ। यसले राजनीतिक हिंसा, अभिव्यक्ति स्वतन्त्रता र आगामी निर्वाचनतर्फ देश कुन दिशामा जान्छ भन्ने प्रश्नलाई थप गहिरो बनाएको छ।
यो घटनाले बंगलादेश र भारतको सम्बन्धमा फेरि तिक्तता ल्याउने स्थिति उत्पन्न भएको पनि विश्लेषकहरूले बताएका छन्। हादी भारतका प्रखर आलोचक थिए।
गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि र उनी भारतमा शरण लिन गएपछि दुई देशको सम्बन्धमा कटुता देखिन थालेको छ। पछिल्ला केही दिनमा दुवै देशबीच सम्बन्ध सुधार्ने प्रयास भइरहेका थिए।
यसै वर्ष अप्रिलमा थाइल्यान्डमा आयोजित एक समारोहबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच भेट भएको थियो।
बंगलादेशमा आगामी फेब्रुअरीमा हुने आमनिर्वाचनपछि दुई देशको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो। तर उस्मान हादीको मृत्युपछि नयाँ बन्ने सरकारले पनि भारतसँग कस्तो सम्बन्ध राख्छ भन्ने निश्चित नभएको विश्लेषकहरूको भनाइ छ।
प्रतिक्रिया