काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज–१ जोड्ने कन्काई पुल निर्माण १४ वर्षदेखि अलपत्र परेपछि पप्पु–महादेव–खिम्ती जेभीसँगको ठेक्का तोडिएको छ।
योजना कार्यालय इटहरीले ३१ जेठ २०६८ मा भएको करिब ३४ करोड ९ लाख रुपैयाँको डिजाइन–एण्ड–बिल्ड ठेक्का बिहीबार रद्द गरेको हो।
म्याद पाँचपटक थप्दा पनि ७२३ मिटरको पुलको काम ५६ प्रतिशत मात्र पुगेको, स्पष्टीकरण चित्तबुझ्दो नभएको र निर्माण व्यवसायीले तदारुकता नदेखाएको भन्दै ठेक्का समाप्त गरिएको कार्यालय प्रमुख युवराज पोखरेलले बताए।
ठेक्का रद्दसँगै १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिने र व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ।
पुलका १९ स्पानमध्ये ८ स्पान मात्र सकिएका छन्। ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षणपछि अलपत्र आयोजना तत्काल निर्णयमा ल्याउने बताउँदै निष्क्रिय ठेकेदारविरुद्ध कडा कदम चाल्न निर्देशन दिएका थिए।
प्रतिक्रिया