काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएकाे छ ।
प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।
उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय समय मागेको हो । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा बिहीबार प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी आज बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमाडौं ल्याइएको हो ।
व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।
चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।
प्रतिक्रिया