काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहालाई सुझाव दिएका छन् ।
सोमबार काठमाडौँमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले राजावादी गतिविधिहरूलाई अशोभनीय भनेर टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले संविधानविपरीतका गतिविधिहरूको विरोध गर्दै यस्ता कार्यलाई रोक्नुपर्ने बताए। त्यस्तै उनले मुलुकमा स्थिरता र समृद्धि कायम राख्न साक्षरता र शिक्षा क्षेत्रमा थप लगानीको आवश्यकता भएको बताए ।
उनले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले सरकारले तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने दायित्व लिने र यसमा निजी क्षेत्रको पनि साथ लिने स्पष्ट पारे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्व अध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा विजय सम्बाहाम्फेलगायतलाई सम्मान प्रदान गरेका थिए ।
प्रतिक्रिया