काठमाडौं । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । कतिपय ठाउँमा मतदान केन्द्रहरू सुनसान देखिएका छन् भने कतिपय ठाउँमा भने बिहानैबाट मतदाताको भीड लागेको छ ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । ‘२५ प्रतिशत मत खस्यो । हालसम्मको मतदान शाख्न्तिपूर्ण छ ।’ पोखरेलले भनिन् ।
आयोगका अनुसार यसपटक नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार यो निर्वाचनमा कुल दुई लाख २६ हजार सात सय ९९ जना मतदाता छन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया