काठमाडैं । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुरमा टाटा सुमो र मोटरसाइकल एक आपसमा ठाेकिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
चन्द्रपुर ४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिमबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीया तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का बिबश सापकोटा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन् ।
टाटा सुमोको ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले बताएका छन् ।
ठक्कर दिएको टाटा सुमो इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहापुरमा पठाइएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो १ बजेर ४० मिनेटमा भएको दुर्घटना तीव्र गतिको कारण हुनसक्ने प्रहरीको अनुमान रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।
प्रतिक्रिया