काठमाडौं । संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध अखिल (क्रान्तिकारी) ले आज काठमाडौं सहित देशभर प्रदर्शन गरेको छ ।
संगठनका संयोजक राईलाई षड्यन्त्रपुर्वक र राजनितीक पुर्वाग्रहका आधारमा गिरफ्तारी गरिएको भन्दैं क्रान्तिकारीले काठमाडौंको टेकु सहित देशैभर कोणसभा गरेको छ ।
कार्यक्रममा दलाल पुजिबादी संसदीय व्यवस्था मुर्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद, संयोजक मिलन राईलाई रिहा गर, दलालहरु संग साटगाठ गरेर विद्यार्थी नेतालाई गिरफ्तार गर्ने प्रहरी मुद्धावाद, प्रहरी दमन बन्द गर, गैरन्यायिक गिरफ्तारी वन्द गर, झुट्टा मुद्दा खारेज गर, शिक्षामा व्यापारीकरण गर्न पाइदैन जस्ता नाराबाजी लागएर प्रदर्शन गरेका थिए ।
टेकुमा गरिएको कार्यक्रम स्थलबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिबालय सदस्य तथा ३ नं. प्रदेश संयोजक उषाकिरण, सचिवालय सदस्य लक्ष्मी शाह, केन्द्रीय सदस्य हस्त विक, केन्द्रीय तथा काठमाडौं जिल्ला सह-संयोजक दिनेश नेपाली र केन्द्रीय सदस्य तथा पद्धमकन्या क्याम्पस अध्यक्ष लक्ष्मी पाण्डेलाई गिरफ्तार गरेर केही बेरमै छोडेको थियो ।
संगठनले चरणवद्ध संघर्षका कार्यक्रम अन्तर्गत जेठ ३ गते गृहमन्त्रीको पुत्ला दहन, जेठ ४ गते पर्चा वितरण, प्रचार-प्रसार तथा दलाल राज्यसत्ता र प्रहरी प्रशासनको श्वेतआतंकको भण्डाफोर, जेठ ५ गते मशाल जुलुश, जेठ ६ गते आम शैक्षिक हड्ताल सहितका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।
क्रान्तिकारीका संयोजक राईलाई सोमबार राति काठमाडौंको रानीवनबाट प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार राईलाई मंगलबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । हाल उनलाई टेकु स्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।
प्रतिक्रिया