काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछाने संसदीय छानबिनका लागि तयार नहुँदा अचम्म लागेको बताएका छन् ।
शनिवार कांग्रेस पदाधिकारी बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले लामिछानेमाथि अहिलेसम्म आएको तथ्य प्रमाणका आधारमा छानबिन गर्ने बताए ।
उनले विगतमा जनार्दन शर्मा, भरतमोहन अधिकारी, रामशरण महत प्रश्न उठेपछि छानबिन समिति बनाउन तयार भएको तर रवि लामिछाने तयार नभएकोमा आश्चर्य लागेको बताए ।
थापाले भने–‘हामीले त भनिरहेका छौँ संसदीय छानबिन समितिको अध्यक्ष एमालेकै बस्नुस्, माओवादीको साथी बस्नुहुन्छ, रास्वपा, राप्रपा बस्नुहुन्छ, हामी पनि बस्छौँ । त्यसले छानबिन गर्ने हो । त्यो बेलामा मिडियाको हेडलाइन ल्याएर संसदीय छानबिन समिति त नबनाउला नि त । प्रहरीको प्रतिवेदन हेर्ला, कम्पनी रजिस्टार कार्यालयको प्रतिवेदन हेर्ला, गोर्खा मिडियाको खाता पल्टाउला । त्यसले कान्तिपुर लगायतका मिडियामा आएको हेडलाइन पल्टाउने होइन होला । मिडियामा आएको कुरालाई संसदीय छानबिन समितिले हेरेर प्रतिवेदन बनाउने होइन होला ।’
उनले छलफल गरेर संसदीय छानबिन समितिको टिओआर बनाएर काम गर्न सकिने बताए । उनले पर्सीको संसद् बैठक अगाडि संसदीय छानबिन समिति बनाउन तयार भए संसद् अघि बढ्ने बताए । संसदीय छानबिन समितिलाई एक दुई महिनाको समय दिन सकिने र त्यसमा सबै दलको प्रतिनिधित्व हुने उल्लेख गरे ।
प्रतिक्रिया