काठमाडौं । आज ठीक २४ वर्ष भयो—नारायणहिटी दरबारभित्र २०५८ साल जेठ १९ गते राति भएको भीषण हत्याकाण्ड। त्यो रात नेपाली इतिहासकै सबैभन्दा रक्तरञ्जित र रहस्यमय रात बन्न पुग्यो, जब राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्या, युवराज दीपेन्द्रसहित शाही परिवारका १० जना सदस्यको ज्यान गयो।
शाही आयोग गठन गरेर घटनाको छानबिन गरिएको भए पनि अहिलेसम्म यो घटनाबारे स्वतन्त्र, निष्पक्ष र अन्तर्राष्ट्रियस्तरको अनुसन्धान हुन सकेको छैन। त्यसैले २४ वर्ष बितिसक्दा पनि यो हत्याकाण्ड नेपाली जनताका लागि अनुत्तरित प्रश्न र गहिरो सन्देहको विषय बनेको छ।
रहस्यमय रात, अधुरो न्याय
२०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी दरबारको ‘कोटेश्वर सदन’ भनिने भवनभित्र पारिवारिक भोज भइरहेकै बेला गोली चल्यो। केही घन्टा भित्रै राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन, राजकुमारी श्रुति, युवराज दीपेन्द्रसहित १० जनाको हत्या भयो। सरकारी छानबिन अनुसार, युवराज दीपेन्द्र आफैंले सबैको हत्या गरेर अन्ततः आत्महत्या गरेको भनिएको थियो।
तर यही कथामा नै धेरै विरोधाभास र असङ्गति छन्। प्रमुख साक्षीहरूका भनाइ, चिकित्सकीय रिपोर्टहरू, घटनास्थलको सुरक्षामा देखिएको कमजोरी र तत्कालीन सुरक्षा संयन्त्रको भूमिका लगायत विषयहरूमा आजसम्म स्पष्टता आएको छैन।
किन भएन स्वतन्त्र छानबिन ?
घटनालगत्तै तत्कालीन सरकार र दरबारले संयुक्त रुपमा एक ‘शाही आयोग’ गठन गरेर छिटो छानबिन सम्पन्न गर्यो। सो आयोगले करिब २ हप्ता भित्रै प्रतिवेदन सार्वजनिक गर्दै हत्याको दोष युवराज दीपेन्द्रलाई लगाएको थियो। तर त्यसयता स्वतन्त्र छानबिनका लागि पटकपटक आवाज उठे पनि त्यसमा कुनै ठोस पहल देखिएको छैन।
राजनीतिक परिवर्तनपछि मुलुक गणतन्त्रमा गए पनि दरबार हत्याकाण्डबारे सत्तामा पुगेका कुनै पनि सरकार गम्भीर रुपमा लागेका छैनन्। पीडित परिवारका केही सदस्य र सर्वसाधारण नागरिकले पटकपटक अन्तर्राष्ट्रिय अनुसन्धानको माग गर्दै आएका छन्।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।
प्रतिक्रिया