• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सीके राउतको पार्टीले माग्यो सभामुखको राजीनामा

    565
    SHARES



    काठमाडौँ । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेले पदबाट राजीनामा दिनुपर्ने बताएको छ।

    साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकी पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन इन्कार गरेको भन्दै जनमत पार्टीले सभामुखको राजीनामा माग गरेको हो।

    पार्टी प्रवक्ता शरद सिंह यादवले जारी गरेको विज्ञप्तिमा सभामुखले अधिकार क्षेत्र बाहिर गएर गैरसंवैधानिक काम गरेको आरोप छ।

    जनमतले सांसद सापकोटालाई पदबाट हटाइदिन २०८१ कात्तिक २७ गते सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरेको थियो। तर सभामुख घिमिरेले मंसिर ७ गते सांसद लाभलाई पदबाट हटाएको सूचना टाँस गर्न इन्कार गरेका थिए।

    ‘कारबाहीको प्रक्रिया मिले नमिलेको, आधार गम्भीर रहे नरहेको, कागजात सक्कली रहे नरहेको ‘फोरेन्सिक जाँच’ गर्ने आदि अधिकार सङ्घीय संसद् सचिवालयलाई स्पष्ट रूपमा छैन’, जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दलको विधानअनुसार सो कारबाही मिले नमिलेको हेर्ने निकाय निर्वाचन आयोग हो या त अदालत हो।’

    जनमतले गरेको कारबाहीलाई बदर गर्दा संसद् सचिवालयले दलको सर्वोच्चतालाई हनन गरेको आरोप लगाएको छ।

    ‘सभामुखले कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनी आफ्नो अधिकार क्षेत्रभन्दा धेरै बाहिर गएर गैर कानुनी, गैरसंवैधानिक, बहुदलीय संसदीय व्यवस्था तथा लोकतन्त्रमाथि नै आँच आउने गरी आपराधिक कार्य गरेको छ’, जनमतको विज्ञप्तिमा भनिएको छ, ‘कोही प्रतिनिधि सभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्‍यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा (एमाले) मा जाने वचनबद्धता गर्‍यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्‍याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैर संवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनु पर्दछ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया