• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

    230
    SHARES



    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् ।

    आइतबार पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले मङ्सिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणमा ऋणसँग सम्बन्धी सम्झौता नहुने बताएका हुन् ।

    ओलीले बीआरआइ ऋण परियोजना कार्यान्वयनमा हस्ताक्षर गर्ने तयारी नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट प्रस्ट पारे ।

    ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन’, प्रधानमन्त्रीले सरोकारवालाहरुसँको छलफलमा भने, ‘चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।’

    त्यसक्रममा प्रधानमन्त्री ओलीले पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरि प्राथमिकतामा राख्ने बताए । ‘त्यसकारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिँजाउनुको कुनै अर्थ छैन’, प्रधानमन्त्रीको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले विश्वशान्ति र नेपालको हितबाहेक अरू कुनै काम नगर्ने भन्दै यसमा ढुक्क हुन आग्रह गरे । चीन भ्रमणमा विशेष गरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको प्रधानमन्त्रीले जानकारी दिए ।

    उनले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताइन् । छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँ उपत्यका बाहिर रहेका कारण अनुपस्थित भए भने पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा.प्रकाशचन्द्र लोहनी, डा.विमला राई पौड्याललगायत सहभागी थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया