काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ । पूल ‘बी’को विजेता नेपालले पूल डीको विजेता श्रीलंकासँगको क्वाटरफाइनल भेट पक्का गरेको हो । क्वाटरफाइनल आजै दिउँसो १: ३५ बजे हुनेछ ।
पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।
अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । नेपालको जितका लागि प्रतीश जिसी एक्लैले तीन विकेट लिए र उनी प्लेर अफ दी म्याच बने । यस्तै लोकेश बम र विवेक यादवले एक/एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको नेपाललले २ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लिग कप्तान सन्दीप जोराले १६ बलमा ४ छक्का र ५ चौका मद्दतमा ५१ रनको योगदान गरे । उनको यो लगातार दोस्रो अर्धशतक हो ।
यस्तै लोकेश बमले ३३, विवेक यादव र राशिद खानले १२/१२ रन जोडे भने नारायण जोशी एक रनमा नटआउट रहे । अष्ट्रेलियाका ज्याक उडले २ विकेट लिए ।
समूह बीमा रहेको नेपाले यसअघि पहिलो खेलमा इंग्ल्यांडलाई पराजित गरेको थियो । यससँगै नेपाल समूह विजेता हुँदै क्वाटर फाइनल पुगेको हो ।
प्रतिक्रिया