• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    लेबननमा रहेका नेपाली शान्ति सैनिकको अवस्था के छ?

    116
    SHARES



    काठमाडौँ । लेबननमा युद्ध चर्किरहेका बेला संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका नेपाली शान्ति सैनिकहरू “हालसम्म सुरक्षित रहेको” नेपाली सेनाले जनाएको छ।

    हिजबुल्लाहविरुद्ध इजरेलले लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू घाइते भइसकेका छन्। शान्ति सैनिकहरू घाइते भएको विवरण आएसँगै त्यहाँ रहेको नेपाली फौजबारे पनि सामाजिक सञ्जालमा धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन्।

    लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज अर्थात् यूनिफिलमा योगदान गर्ने ३४ वटा देशहरूले शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेका छन्। इजरेल र हिजबुल्लाबीच लेबननमा लडाइँ जारी छ र इजरेली फौजले दक्षिणी लेबननमा स्थल ‘कारबाही’ पनि गरिरहेको जनाएको छ।

    इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)को ट्याङ्कबाट प्रहार भएको गोलाबाट गत बिहीवार दक्षिणी लेबननमा दुई जना इन्डोनेसियाली शान्ति सैनिकहरू घाइते भएका थिए।

    शुक्रवार नकुरा भन्ने स्थानमा दुई श्रीलङ्काली सैनिकहरू घाइते हुने गरी भएको अर्को घटनाको पनि आईडीएफले जिम्मेवारी लिँदै अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको थियो। शुक्रवारकै अर्को घटनामा फेरि दक्षिण लेबननमा गोली लागेर थप एक शान्ति सैनिक घाइते भएको संयुक्त राष्ट्रसङ्घले शनिवार जनाएको थियो।

    लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल)ले आफ्ना शान्ति सैनिकहरू घाइते हुनुका साथै शान्ति सैनिकहरू रहेका शिविरहरूमा आईडीएफले हस्तक्षेप गर्ने गरेको विवरण सार्वजनिक गरिरहेको छ।

    इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननमा रहेको शान्ति सेना ‘तत्काल’ त्यहाँबाट फिर्ता गर्न आग्रह गरेका थिए।

    तर संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाका प्रमुखले त्यसलाई अवज्ञा गर्ने बताएका छन् र शान्ति सेना सैनिकहरूलाई यथास्थानमा बस्न निर्देशन दिएका छन्।

    नेपालीको अवस्था के छ?

    नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार लेबननमा रहेका नेपाली शान्ति सैनिकहरू अहिले ‘तेस्रो तहको सुरक्षा मापदण्ड’मा बसिरहेका छन्।

    “तेस्रो तहको सुरक्षा मापदण्ड भनेको आफ्नो बङ्करमै बस्नुपर्ने अवस्था हो,” उनले भने, “अहिले त्यहाँ सोही मापदण्ड लागु गरिएको छ र हाम्रा सैनिकहरू पनि सोही अनुसार बसिरहेका छन्।”

    उनका अनुसार इजरेल-हिजबुल्लाह तनावका कारण हालसम्म नेपाली शान्ति सैनिकहरूमाथि कुनै पनि प्रकारको आक्रमण भएको अवस्था छैन। यद्यपि अहिले नेपाली शान्ति सैनिकहरू पनि बाहिर निस्केर हिड्ने वा गस्ती गर्ने अवस्था नरहेको उनले बताए।

    “त्यहाँ परिस्थिति संवेदनशील छ तर हाम्रा सबै सैनिकहरू सुरक्षित अवस्थामा छन् र हाम्रो राष्ट्र सङ्घ हेर्ने शाखाले उनीहरूसँग नियमित सम्पर्क गरिरहेको छ,” उनले भने। नेपालको परराष्ट्र मन्त्रालयले लेबननस्थित शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ।

    मङ्गलवार सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्रालयले भनेको छ, “नेपाल यूनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा रूपमा निन्दा गर्छ र द्वन्द्वका पक्षलाई उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्छ।”

    यूनिफिलमा योगदान गर्ने नेपालसहित ३४ वटा देशहरूले जारी गरेको संयुक्त विज्ञप्तिलाई पनि शेअर गरिएको उक्त पोस्टमा यस्ता कार्य तत्काल रोकिनु पर्ने र घटनाको छानबिन हुनुपर्ने उल्लेख गरिएको छ।

    यसअघि ब्रिटेनसहित विभिन्न ४० देशले पनि लेबननमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूमाथि भएको आक्रमणको ‘कडा निन्दा’ गरेका थिए।

    ती देशहरूले “यूनिफिलका शान्ति सेनामाथिका आक्रमण तत्काल रोकिनुपर्ने र त्यसबारे पर्याप्त अनुसन्धान हुनुपर्ने” उल्लेख गरेका थिए।

    कति नेपाली सैनिक छन्?

    नेपाली सेनाका प्रवक्ता केसीका अनुसार हाल लेबननमा शान्ति सेनाका रूपमा खटिएका कुल ८७७ जना नेपाली सैनिकहरू छन्। गत वर्ष विस्फोटपछि निस्केको छर्रा लागेर एक नेपाली शान्ति सैनिक घाइते भएका थिए।

    यूनिफिलका शान्ति सैनिकहरू इजरेल र लेबननलाई छुट्याउने काल्पनिक सीमा रेखा ब्लू लाइनमा तैनाथ छन्। अधिकारीहरूका अनुसार दक्षिणी लेबननको झन्डै ९६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको अनि १५ किलोमिटर लम्बाइको ब्लू लाइनको क्षेत्रको जिम्मेवारी नेपाली बटालियनले लिएको छ।

    यो वर्ष विश्वका विभिन्न ११ वटा मिसनमा ६ हजारभन्दा बढी शान्ति सैनिक तैनाथ गर्दै नेपाल शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघमा सेना उपलब्ध गराउने पहिलो नम्बरको देश बनेको छ। महिला शान्ति सैनिकको हिसाबले पनि नेपाल नम्बर एक देशको रूपमा रहेको छ। नेपालले ६८९ महिला शान्ति सैनिक खटाएको छ।

    नेपाली सेनाबाहेक नेपालका प्रहरी बलले पनि संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा आफ्ना कर्मचारी पठाउने गरेका छन्। हाल विभिन्न मिसनमा सशस्त्र प्रहरी अनि नेपाल प्रहरीका गरी २२३ जना कार्यरत रहेका बताइएको छ। बीबीसी नेपाली

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ