काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
तर सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र-३-०१-०२४ च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।
यस्तै ईच्छाकमना गाउँपालिका ३ को मौवाखोला, दतिखोला, पानीधारामा पनि सडक माथिबाट पहिरो आई बाटो पूर्णरुपमा अवरुद्ध छ ।
तीन नम्बर पुल नजिकै खसेको पहिरो हटाउन थालिएको छ । पहिरो हटाउन अझै ३/४ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।
यता काठमाडौंको नागढुंगा–थानकोट खण्डमा पहिरो गएको छ । पहिरोले सडकको एउटा लेन पूरै बन्द भएको छ । लेदोमाटोसहित खसेको पहिरो पन्छाउने काम यो समाचार तयार पार्दासम्म सुरु नै भएको छैन ।
नागढुंगा चेकपोइण्टमै पनि पहिरो खसेको छ । पहिरो जान थालेपछि काठमाडौं भित्रिने सवारी साधन चेकिङ गर्ने प्रहरीहरु ठाउँ सरेका छन् ।
अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया