न्युयोर्क । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।
उनीहरूबीच भेटवार्ता न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान साइडलाइनमा भएको हो ।
दुई जनाबीच अमेरिकाको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगमा नेपालमा निर्माण भइरहेको ऊर्जा तथा सडक पूर्वाधार विकासको बारेमा कुराकानी भएको थियो । न्युयोर्कस्थित राष्ट्र संघको लागि नेपालको स्थायी नियोगका अनुसार उक्त अवशरमा प्रधानमन्त्री ओलीले एमसीसीमार्फ नेपाललाई गरेको सहयोगलाई लिएर धन्यवाद दिए ।
कुराकानीमा उच्च गुणस्तरमा ट्रान्समिसन लाइन र सडक पूर्वाधार परियोजना निर्माण समयमै सक्ने आशा गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका थिए । अमेरिकी पक्षले भने समयमै ऊर्जा र सडक पूर्वाधार निर्माणको काम पूरा गर्ने वाचा गरेको थियो ।
प्रतिक्रिया