काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी समितिले प्रतिवेदन बुझाएपश्चात् आफ्नो पार्टी महामन्त्री गगनकुमार थापाले जितेको दाबी गरेका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले महामन्त्री थापाले सहकारीको विषय उठाउँदा आफूले नपत्याए पनि सदनमा प्रतिवेदन पेस भएपछि आफू छक्क परेको बताए । उनले महामन्त्री थापाले सहकारीबारे धेरै अध्ययन गरेर बोलेको आफूले पाएको कार्यक्रममा सुनाए ।
‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर। सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर‚’ उनले भने।
सभापति देउवाले रवि चलाख र सहकारी ठगीमा संलग्न भएको भनेर प्रमाणित भएको पनि उल्लेख गरे । ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर। तपाईँले जित्नुभयो, त्यसकारण धन्यवाद तपाईंलाई‚’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले जिल्लामा राम्रो सङ्गठन विस्तार गर्न र जिल्लामा भएका झगडा मिलाउनतिर लाग्न सबैलाई निर्देशन दिए ।
प्रतिक्रिया