• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी विचार-ब्लग

    फर्केर हेर्दा जनयुद्ध- पच्चीस बर्षपछि छब्बीस प्रश्न

    10.5K
    SHARES



    बीस बर्षअघि नुवाकोट जिल्लाको तारुका प्रहरी चौकी माओवादी जनसेनाले कब्जा गरेको घटनाबाटै हो मैले पहिलो पटक माओवादी पार्टीले गरेको फौजी कारवाहीको बारेमा सुनेको । कस्ता हुन्छन माओवादीहरु ? के खान्छन होला ? नदेख्दाको कौतुहलता यस्तै हुन्च्थ्यो । जंगलमा बस्छन रे ! सुन्दा पनि रोमान्चक लाग्ने समय थियो त्यो । मैले त्यहिबेला थाहा पाएकी हूँ प्रचण्डको बारेमा ।

    मेरो घर आँगनमा आइरहने शहिद मोचकुमारी मगर, राजकुमार श्रेष्ठ, हाल राजनीतिबाट गुमनाम बनाइएका पात्र अर्जुन अगस्तीहरुले प्रचण्डको स्केच गरेको तस्बीर देखाएर भने- उहाँ नै हो यो माओवादी आन्दोलनको नेतृत्व गर्ने कमाण्डर !

    जुगाँ मुठे मान्छे दाँहिने हात उठाएर ’लाल सलाम’गरेको फोटो अचम्ममा परे । मनमा अर्को रहस्य जन्मियो- किन यो फोटो यति धेरै महत्वको छ ? ‘गरिव दुखी जनताको लागि प्रचण्ड भगवान सरह हो रे !’ यो भनाई ठिक २० वर्ष अगाडीको हो । २० वर्ष अगाडिको प्रचण्ड र २० वर्ष पछिको प्रचण्डलाई समानान्तर आँखाले हेर्दा ठम्याउनै गाह्रो हुने रहेछ ।

    संसारभर भएका विभिन्न विद्रोहरुको चर्चा र व्यवस्था परिवर्तनका कुराहरु विद्यालयका पुस्तकहरुमा पढिएको हो । मुख्यगरी इतिहास र समाज व्यवस्थाबारे पढ्दा कहिँकतै ती व्यवस्थाबारे सुनिए पनि त्यसले हाम्रो समाजको व्यवहारमा भने फरक पार्ने कुरा थिएन । अहिले सम्झदा लाग्छ आफै सहभागी त्यो समय देशको जीवनमा राजनितिक विकटताको समय नै थियो । त्यो विकटताको साक्षी म स्वंम नै हूँ ।

    जनयुद्ध दिवस किन मनाइन्छन् ? जनयुद्ध दिवसको औचित्य के हो ? जनयुद्धको सवाल कहाँबाट कहाँसम्म जोडिएको छ ? वर्गिय मुक्ति सम्भव छ ? हामी सबैखाले दासताबाट मुक्तत हुन्छौं ? यस्ता सवालहरु जनयुद्धको मोर्चामा सामेल नहुँदासम्म मेरा लागि गौण विषय नै थिए । त्यसैले मैले जनयुद्ध दिवसलाई सामाजिक राजनीतिक कार्यक्रमको रुपमा कहिले मनाएँ भनेर सम्झँदा त्यो ५ औं जनयुद्ध दिवसबाट औपचारिक हुने रहेछ । म निधारमा कफनधारी कात्रो बाँधेर सबैखाले मोर्चाहरुमा होमिएर मनाएको पहिलो जनयुद्ध दिवस थियो त्यो पाँचौ चाही ।

    बन्दुकसँगको अनौठो प्रेमको अनुभूति छ मसँग । सानो हुँदा बासँग म केही समय जाउलाखेलको इलाका प्रहरी कार्यालयमा सँगै बसेको थिए । त्यो बेला त्यो इलाका प्रहरी कार्यालयको कमाण्डर हुनुुहुन्थ्यो मेरो बा । त्यहीबेला समाएको थिए बाले समेत नदेख्ने गरेर ३०३ राइफल । पछि बा लाई भने ( ठुलो भए पछि म पनि बन्दुक बोक्छु) । साच्चै बन्दुक त बोके मैले तर बाकाे पाटीको होइन की बा को बिद्रोही पाटीको ।

    मैले हसिया हथौडाको झण्डामुनि आबद्ध भएर ५औं जनयुद्ध दिवस मनाइरहदा मनमा एक खालको तरंग छल्किएको थियो । (साच्चै जनयद्ध निमुखाहरुको हितमा लडिएको छ ?  वर्ग विभेदको अत्य हुन्छ ? मान्छेले मान्छे भएर बाँच्न पाउने अधिकारको सुनिस्चितता हुन्छ ? विश्वभरका उत्पीडित वर्गको लागि भएका ठुला ठुला आन्दोलनहरुको रुप नै हो त जनयुद्ध पनि । धेरै प्रश्नको साझा उत्तर थियो यो । तर मनमा अहिले पनि ति प्रश्नहरु अनुत्तरीत नै छन । जसले जबाफ दिनु पर्ने हो उनीहरुले त जनयुद्धको मुद्धा बिर्सजनसँगै सबै कुरा बिर्सिएर वर्ग रुपान्तरण भएका जो छन ।

    आज २६ औं जनयुद्ध दिवस मनाउदै गर्दा माओवादी जनयुद्दको नेतृत्व गरेका तत्कालीन नायकहरुलाई सोध्न मन छ- हिजो तिमीहरुले जनयुद्ध शुरु गर्दा लगाएको नारा कहाँ पुग्यो ? अहिले कोही सत्तामा कोही सडकमा किन महोत्सबहरु मनाइरहेका छौ ? हिजोको आन्दोलनको बलमा तिमीहरुका आफन्तले हनिमुन मनाइरहेका छन । इमान्दार कार्यकर्तामाथि अन्याय भएको छ कि छैन ? कहिले सोच्ने होला गिदिले यस्ता कुराहरु ? हाम्रो बलिदान र योगदानमा तिमी र तिमिहरुका आफन्त नातेदारले मनाइरहेको हनिमुनको यात्रा कहिलेसम्म ?

    सीधा प्रश्न छ मेरो (हिजो सँगै लडाई लडेका सहयात्रीहरु काहाँ छन र किन त्यहाँ छन ?) यो हेर्ने हैसियत राख्नु पर्दैन ? त्यो क्रान्ति थियो यसमा कुनै भ्रम छैन । तर त्यसका उपलब्धीहरु थिए भने तिम्रो लागि लडने तिम्रो सहयात्री र जनताको लागि पनि महोत्सव आउनु पर्थ्यो नि हैन र ? अहिले तिमिले मनाएको सत्ता र सडक महोत्सव साकार पार्न मृत्युबरण गर्ने शहीद परिवार र तिनका आफन्त र छोराछोरीहरुले कहिले पाउछन त अवसर ? सिरानीमा फोटो सजाउदै अझै पनि बेपत्ता आफन्तहरु फर्केर आउछन की भनेर बाटो कुर्नेहरुले कहिले पाउछन सत्य तथ्य न्याय ?

    जनयुद्ध लडेको जिउदो मान्छेले जनयुद्द पछिको राज्य र समाजबाट कति आतंक भोग्नु पर्यो त्यो संग्लो समाजको संग्लो प्रतिबिम्ब म पनि हूँ । क्रान्ति-क्रान्ति भनेर सपना देखाउनेहरुले क्रान्तिको विर्सजन गरेपछि अहिले कस्तो खालको सपना देख्छन होला ? लडाई कमाण्डरले पनि लड्यो, सिपाहीले पनि लड्यो तर कमाण्डर आरामदायी सत्तामा सवार हुँदा सँगै लडेका सहयोद्धाहरु किन काठको बाकसमा बिदेशबाट फर्किन बाध्य छन ? यो अहिलेको केन्द्रिय प्रश्न हो ।

    के यसैको लागि लडाइएको थियो त्यो लडाई र त्यो युद्ध ? राम बहादुर थापा बादलहरुलाई प्रतिगमनको समर्थन गर्नको लागि बगेको हो त्यो रगत ? पच्चिस बर्षपछिको यो छबिसौ प्रश्न हो । तर मलाइ बिश्वास छ यो प्रश्नको जवाफ तिमिसँग छैन । अहिले सडकमा बजाएको बाजाको ताल र रत्यौलीको मादलमा जनताको गास, बास, कपासको ग्यारेन्टी समेटिएको छ त ?

    मैले जनमुक्ति सेनाको सदस्य भएर पहिलो पल्ट सहभागी भएको मोर्चा सर्लाहीको जिल्लाको इलाका प्रहरी कार्यालय थियो । पूर्वका विभिन्न फौजी मोर्चा पश्चिम रुकुमको चौरजहारी भिडन्त, म्यादी जिल्लाको सदरमुकाम बेनी र जनयुद्धको अन्तिम मोर्चा चौतरासम्म आइपुग्दा पनि लागेको थिएन की जनयुद्धको मुद्धाहरुलाई सत्तासंग साटेर आजको हकिगतमा मैले हाम्रा कमाण्डर र नेताहरुलाई देख्नु पर्छ भनेर ।

    म जस्तै हजारौ जनमुक्ति सेनाको सिपाहीहरु आज पनि युद्धमा लागेको ग्रिनेट गोलीका छर्रा बोकेर बिदेशमा काम गर्न बाध्य छन । शान्तिप्रकियापछि उदाएको चैते जनमुक्ति सेनाहरुको चतुँर्याईले इमान्दार जनयुद्ध लडेका असली सिपाहीहरुमाथि अपमान भएको छ, यसको छानबिन गर्नु पर्छ की पदैन नेतृत्वले ? इजतले लडेको लडाई हो त्यो तर जसको कारणले राज्य सत्ता फेरियो उनीहरु अपमानित भए र सत्ताको तरमा केही सिमित मान्छे रमाए । २६औं प्रश्नको अपेक्षा सहित सम्पूर्ण न्यायप्रेमी जनता र क्रान्तिकारी योद्धाहरुमा जनयुद्ध दिवसको शुभकामना ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया