• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय कभर स्टोरी

    इरानलाई कहिल्यै अमेरिकासामु झुक्न नदिएका अयातोल्लाह अली खामेनी…..

    690
    SHARES



    शनिबार इरानका सर्वोच्च नेता अली खामेनीको निवासमा भएको अमेरिका-इजरायल संयुक्त हवाई आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको घोषणा गरेका छन्। ट्रम्पले खामेनी र अन्य इरानी अधिकारीहरू अमेरिकी जासुसी संयन्त्र र अत्याधुनिक ट्र्याकिङ प्रणालीबाट उम्कन नसकेको बताएका छन्।

    इरानले पनि देशमा जारी अमेरिका र इजरायलको आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नातिको पनि मृत्यु भएको छ।

    एक दशकअघि इस्लामिक क्रान्तिको नेतृत्व गरेका प्रभावशाली नेता अयातोल्लाह रुहोल्लाह खोमेनीको निधनपछि सन् १९८९ मा खामेनीले इस्लामिक गणतन्त्र इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व सम्हालेका थिए।

    खामेनी पहलवी राजतन्त्रको अन्त्य गर्ने क्रान्तिका वैचारिक शक्ति थिए भने, उनले सैन्य र अर्धसैनिक संयन्त्रलाई आकार दिए। यसैले इरानलाई शत्रुहरूबाट बचाउने मात्र नभई यसको सिमानाभन्दा धेरै परसम्म इरानको प्रभाव विस्तार गर्न मद्दत गर्‍यो।

    सर्वोच्च नेता हुनुअघि उनले सन् १९८० को दशकमा इराक सँगको रक्तपातपूर्ण युद्धमा राष्ट्रपतिको रूपमा इरानको नेतृत्व गरेका थिए। विश्लेषकहरूका अनुसार, पश्चिमी देशहरूले इराकी नेता सद्दाम हुसेनलाई समर्थन गर्दा इरानीहरूमा पैदा भएको एक्लोपनको महसुस र त्यो विनाशकारी युद्धले खामेनीमा समग्र पश्चिम र विशेषगरी अमेरिकाप्रतिको अविश्वासलाई गहिरो बनाइदिएको थियो।

    यही भावनाले उनको दशकौँसम्मको शासनलाई आधार दियो र इरानले बाह्य र आन्तरिक खतराहरूविरुद्ध निरन्तर रक्षात्मक अवस्थामा रहनुपर्छ भन्ने विचारलाई स्थापित गर्‍यो।

    इरानी मामिलाका विशेषज्ञ तथा इरान्स ग्रान्ड स्ट्राटेजी: ए पोलिटिकल हिस्ट्रीका लेखक वली नस्र भन्छन्, ‘मानिसहरू इरानलाई धर्मतान्त्रिक देश मान्छन् किनभने खामेनी फेटा बाँध्थे र राज्यको भाषा धर्मको भाषा थियो। तर वास्तवमा, उनी युद्धबाट उदाएका एक युद्धकालीन राष्ट्रपति थिए, जसको मान्यता इरान जोखिममा छ र यसलाई सुरक्षाको आवश्यकता छ भन्ने थियो। अमेरिका इरानको शत्रु हो, र क्रान्ति, इस्लामिक गणतन्त्र र राष्ट्रवाद छुट्टाछुट्टै कुरा होइनन्, त्यसैले यिनको रक्षा गर्नुपर्छ भन्ने उनको बुझाइ थियो।’

    यही दृष्टिकोणअन्तर्गत, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) एक अर्धसैनिक बलबाट शक्तिशाली सुरक्षा, राजनीतिक र आर्थिक संस्थाको रूपमा विकसित भयो, जुन मध्यपूर्वभरि इरानको प्रभाव विस्तारको केन्द्रविन्दु बन्यो। खामेनीले पश्चिमी देशहरूको कठोर प्रतिबन्धको सामना गर्न आत्मनिर्भरता बढाउने उद्देश्यले ‘प्रतिरोधको अर्थतन्त्र’ लाई प्रवर्द्धन गरे। उनले पश्चिमाहरूसँगको संवादप्रति सधैं शंका व्यक्त गरे र रक्षामा मात्रै केन्द्रित हुँदा आवश्यक सुधारहरू रोकिएको भन्दै आलोचना गर्नेहरूलाई कडा जवाफ दिए।

    तर उनको शासनकालले वर्षौँदेखि गम्भीर परीक्षणहरूको सामना गर्नुपर्‍यो। सन् २००९ मा धाँधलीपूर्ण राष्ट्रपतीय चुनावको आरोप लगाउँदै सडकमा उत्रिएका प्रदर्शनकारीहरूमाथि क्रूर दमन गरियो। त्यसैगरी, सन् २०२२ मा महिला अधिकारको विषयलाई लिएर भएको आन्दोलनमा पनि कडा रवैया अपनाइयो।

    सायद उनको शासनमाथिको सबैभन्दा ठुलो चुनौती यसै वर्षको जनवरीमा आयो, जब आर्थिक कठिनाइका कारण सुरु भएको विरोध प्रदर्शन देशव्यापी विद्रोहमा परिणत भयो। धेरै प्रदर्शनकारीहरूले सीधै इस्लामिक गणतन्त्रलाई फ्याँक्न आह्वान गरे। अधिकारीहरूको कडा प्रतिक्रियाका कारण सन् १९७९ को क्रान्तिपछिकै सबैभन्दा हिंसात्मक झडप भयो।

    आलोचकहरूले उनलाई सुधार र आर्थिक समृद्धि चाहने युवा जनसङ्ख्याको चाहनाभन्दा धेरै टाढा रहेको र सधैँ अमेरिका र इजरायलसँगको छाया युद्ध र एक्लोपनमा मात्रै रमाइरहेको नेताका रूपमा हेर्थे।

    ‘इरानीहरूले राष्ट्रिय स्वतन्त्रताको यो हदसम्मको जिद्दीका लागि धेरै ठुलो मूल्य चुकाउनुपर्‍यो। यसै क्रममा उनले इरानी जनताको विश्वास गुमाए किनभने जनताले अब यो स्वतन्त्रताको औचित्यमा विश्वास गर्न छाडिसकेका थिए,’ नस्रले भने।

    शिक्षा
    सन् १९३९ मा उत्तरपूर्वी इरानको पवित्र शिया सहर मशादमा जन्मिएका खामेनीका पिता प्रख्यात मुस्लिम नेता र छिमेकी इराकका अजरबैजानी मूलका थिए। यो परिवार मशाद सर्नुअघि उत्तरपश्चिमी इरानको ताब्रिजमा बसेको थियो। मशादमा खामेनीका पिताले अजरबैजानी मस्जिदको नेतृत्व गर्थे।

    खामेनीले आफ्नी आमा खदिजेह मिर्दामदीलाई कुरान र पुस्तककी सौखिन पाठकका रूपमा वर्णन गरेका छन्, जसले उनमा साहित्य र कविताप्रतिको प्रेम जगाइन् र पछि पहलवी राजवंशको शासनविरुद्धको आन्दोलनमा लाग्दा उनलाई समर्थन गरिन्।

    खामेनीले ४ वर्षको उमेरदेखि कुरान पढ्न थालेका थिए र मशादको पहिलो इस्लामिक विद्यालयबाट प्राथमिक शिक्षा पूरा गरे। उनले हाईस्कुल भने पूरा गरेनन्, बरु धर्मशास्त्र अध्ययन गर्न थाले र आफ्ना बुबा तथा शेख हसेम घाज्भिनी जस्ता तत्कालीन प्रख्यात इस्लामिक विद्वानहरूबाट ज्ञान आर्जन गरे। त्यसपछिका वर्षहरूमा उनले नजफ र कोममा रहेका उच्च शिक्षाका लागि प्रख्यात शिया केन्द्रहरूमा आफ्नो अध्ययनलाई निरन्तरता दिए।

    कोममा हुँदा उनी अयातोल्लाह खामेनीसहित अन्य प्रसिद्ध मुस्लिम विद्वानहरूसँग नजिक भए। खामेनी त्यतिबेला शाह राजाविरुद्धको विद्रोहका कारण युवा विद्यार्थीहरूमाझ निकै लोकप्रिय थिए। खामेनीले न्यायशास्त्रका पाठ्यक्रमहरू र सार्वजनिक धर्मशास्त्र व्याख्याका कक्षाहरू पढाउँथे, जसले गर्दा राजतन्त्रसँग मोहभङ्ग हुँदै गएका युवा विद्यार्थीहरूसम्म उनको पहुँच बढ्यो।

    सन् १९५३ मा बेलायती जासुसी संस्था एमआई६ र अमेरिकी सीआईएको डिजाइनमा भएको ‘कू’ पछि इरानमा राजतन्त्रलाई पूर्ण शक्तिसहित पुनर्स्थापित गरिएको थियो। उक्त कू मार्फत इरानी तेल उद्योगलाई राष्ट्रियकरण गर्न खोज्ने लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसादेगलाई सत्ताच्युत गरिएको थियो।

    एक राजनीतिक कार्यकर्ताको रूपमा, खामेनी शाहको गोप्य प्रहरी (सावाक) द्वारा पटक-पटक पक्राउ परे र उनलाई दक्षिणपूर्वी इरानको दुर्गम सहर इरानसहरमा निर्वासनको सजाय सुनाइयो। तर उनी १९७८ को विरोध प्रदर्शनमा भाग लिन फर्किए, जसले पहलवी शासनको अन्त्य गर्‍यो।

    सर्वोच्च नेता
    राजतन्त्र ढलेपछि खामेनी नयाँ इरान स्थापना गर्ने प्रमुख व्यक्ति बने। उनले १९८० मा छोटो समयका लागि रक्षामन्त्रीको रूपमा काम गरे र इरान-इराक युद्ध सुरु भएपछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को सुपरभाइजरको रूपमा काम गरे। एक उग्र वक्ताका रूपमा उनले तेहरानको शुक्रबारे प्रार्थनाको नेताको प्रभावशाली पद पनि सुरक्षित गरे।

    सन् १९८१ को वर्ष खामेनीका लागि निकै महत्त्वपूर्ण साबित भयो। मोजाहेदिन-ए खल्क (एमईके) नामक विपक्षी समूहले गरेको हत्या प्रयासबाट उनी मुस्किलले बाँचे तर उनको दाहिने हात नचल्ने भयो। यो समूहले खोमेनीसँग विवाद भएपछि भर्खरै स्थापित इरानी धर्मतन्त्रविरुद्ध सशस्त्र विद्रोह सुरु गरेको थियो। सोही वर्ष, खामेनी इरानको राष्ट्रपति बने, जुन पदमा पुग्ने उनी पहिलो धर्मगुरु थिए।

    खोमेनीले १९८८ मा कैदीहरूको सामूहिक फाँसीको आलोचना गरेपछि आफ्ना लामो समयदेखिका उत्तराधिकारी अयातोल्लाह हुसेन अली मोन्ताजेरीलाई पाखा लगाएका थिए।

    संविधान परिमार्जन गर्न गठन भएको एक परिषद्ले खामेनीलाई सर्वोच्च नेता नियुक्त गर्‍यो। यसो गर्न परिषद्ले देशको सर्वोच्च पद धारण गर्न आवश्यक योग्यतालाई खुकुलो पार्नुपरेको थियो। खामेनीसँग होज्जातोलेस्लाम (उच्च-पदस्थ शिया धर्मगुरुको उपाधि) थिएन।

    ‘मलाई लाग्छ कि म यो पदको योग्य छैन; सायद तपाईं र मलाई यो थाहा छ। यो वास्तविक नेतृत्व होइन, प्रतीकात्मक नेतृत्व मात्र हुनेछ,’ खामेनीले त्यसबेला भनेका थिए। तर उनको नेतृत्व प्रतीकात्मक मात्र भने रहेन।

    अयातोल्लाहको रूपमा खामेनीको सुरुवाती कार्यकाल इराकसँगको ८ वर्षे युद्धले तहसनहस पारेको देशको पुनर्निर्माण गर्ने प्रयासबाट परिभाषित थियो। द्वन्द्वमा १० लाखभन्दा बढी मानिस मारिएका थिए र अर्थतन्त्र भताभुङ्ग भएको थियो। इरानी सेना र सर्वसाधारणमाथि इराकले रासायनिक हतियार प्रयोग गर्दा पनि अन्तर्राष्ट्रिय समुदाय मौन बसेको भन्दै इरानीहरूमा आक्रोश पैदा भएको थियो। राष्ट्रपति छँदा खामेनी बारम्बार युद्धको अग्रमोर्चामा जान्थे, जसले उनलाई आईआरजीसीको वफादारी कमाउन र युद्धको वास्तविकता बुझ्न मद्दत गर्‍यो।

    ‘उनी इराकसँगको युद्धमा खारिएका नेता हुन् । त्यसैले उनको आन्तरिक र विदेश नीतिको दृष्टिकोण तय गर्‍यो। सर्वोच्च नेता बनेपछि उनले घेराबन्दी र निरन्तर प्रतिरोधका लागि सैन्य र अर्धसैनिक संयन्त्र निर्माण गर्न ध्यान केन्द्रित गरे,’ जोन हप्किन्स युनिभर्सिटीकी मानवशास्त्र र मध्यपूर्व अध्ययनकी एसोसिएट प्रोफेसर नरगेस बाजोघलीले भनिन्।

    तर १९९० को दशकमा माहोल बदलिन थाल्यो। देशलाई लगानीको सख्त आवश्यकता थियो, भने क्रान्तिकारी जोश केही सेलाउन थालेको थियो। युद्धबाट थकित केही मानिसहरू इरान अन्तर्राष्ट्रिय समुदायसँग जोडिएको हेर्न चाहन्थे।

    यही भावनाका कारण सन् १९९७ मा सुधारवादी मोहम्मद खातमीले चुनावमा भारी मतले विजय हासिल गरे। उनी पश्चिमाहरूसँगको सम्बन्ध सुधार र सभ्यताहरू बिचको संवादका पक्षधर थिए।

    यद्यपि, पश्चिमप्रतिको खामेनीको आफ्नै शंका र अविश्वास भने कायमै थियो। सैन्य र अर्धसैनिक संयन्त्रभित्रबाट पनि सुधारको पक्षमा मत आउनुलाई उनले यथास्थितिको लागि खतराको रूपमा हेरे। बाजोघलीका अनुसार त्यसपछि उनले सुधारवादीहरूविरुद्ध वफादार समर्थकहरूको एक स्थिर भोटिङ ब्लक बनाउन सुरु गरे।

    ‘खामेनीसँग खोमेनीको जस्तो स्वाभाविक जनआधार थिएन,’ बाजोघलीले भनिन्, ‘त्यसैले उनले युवा पुस्तालाई शिक्षा र तालिम दिन अर्धसैनिक प्रणालीभित्र धेरै लगानी गरे, जो पछि गएर माथि पुग्न सकून्।’

    यसको अर्थ आईआरजीसीलाई इरानको अर्थतन्त्रमा हावी हुन व्यापारिक सञ्जाल निर्माण गर्न स्वतन्त्र छाडिदिनु थियो। साथै, अर्धसैनिक स्वयंसेवक बल बासिजका युवा सदस्यहरूका लागि प्रशिक्षण कार्यक्रम तीव्र पारियो। यो समाजको सानो हिस्सा भए पनि खामेनीको पश्चिमविरुद्धको निरन्तर प्रतिरोधको नीतिसँगै हुर्कियो र यसलाई असीमित स्रोतसाधन दिइयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, बाजोघलीका अनुसार, उनीहरू लड्न र मर्न तयार थिए।

    सन् २००९ मा पश्चिमका कट्टर विरोधी महमुद अहमदिनेजादको विवादास्पद चुनावी जितपछि उठेको देशव्यापी विरोधलाई दबाउन अर्धसैनिक बलका यिनै नयाँ पङ्क्तिहरूलाई खटाइएको थियो। त्यतिन्जेलसम्म, सन् १९७९ पछि जन्मेको इरानीहरूको नयाँ पुस्ता आफ्ना आमाबुवाको क्रान्तिलाई प्रेरित गर्ने साम्राज्यवाद र उपनिवेशवाद विरोधी भाष्यप्रति खासै चासो राख्दैनथ्यो।

    खामेनीको नेतृत्वमाथि आएको त्यसबेलाको सबैभन्दा कडा चुनौती मानिएको उक्त आन्दोलनलाई मिडियाले ग्रीन मुभमेन्ट नाम दिएको थियो। लाखौं प्रदर्शनकारीहरू चुनावी नतिजाको विरोध गर्न र पराजित सुधारवादी उम्मेदवार मीर हुसेन मौसवीको समर्थनमा सडकमा उत्रिएका थिए। प्रदर्शनकारीले अहमदिनेजादलाई जिताउन धाँधली भएको बताए पनि खामेनीले नतिजालाई सदर गरे। एम्नेस्टी इन्टरनेशनलका अनुसार हजारौंलाई पक्राउ गरियो र दर्जनौं मारिए।

    इरानी नेतृत्वले धार्मिक सत्ता ढाल्न पश्चिमी देशहरूले अशान्ति मच्चाएको आरोप लगायो। अहमदिनेजादले भनेका थिए, ‘तपाईंहरू (पश्चिम) ले आफ्नो कार्यको जवाफदेही हुनुपर्छ। इरानी राष्ट्रले खराब नियत राख्नेहरूलाई यस्तो झापड हान्नेछ कि उनीहरूले आफ्नो घर जाने बाटो नै बिर्सनेछन्।’

    ‘न शान्ति न युद्ध’

    खामेनी एक व्यवहारिक नेता पनि थिए। विश्लेषकहरूका अनुसार उनी पश्चिमविरुद्धको लडाइँ फरक रणनीतिबाट लड्नुपर्छ भन्ने मान्थे: प्रतिरोध गर्ने तर आवश्यक परे वार्ता पनि गर्ने।

    सन् २०१५ मा, आफ्नो आणविक कार्यक्रमका कारण देश अन्तर्राष्ट्रिय प्रतिबन्धले थिचिएको थियो। आन्तरिक स्थिरता कायम राख्न र आफ्नो वैधता बढाउन खामेनीले आर्थिक दबाब कम गर्नुपर्ने आवश्यकता महसुस गरे।

    त्यसैले उनले तत्कालीन राष्ट्रपति हसन रुहानीलाई अमेरिकासहितका पश्चिमी देशहरूसँग वार्ता गर्न हरियो झन्डा देखाए, जसले गर्दा २०१५ मा ‘ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन’ सम्झौता भयो। इरान र विश्व शक्ति राष्ट्रहरूबिच भएको यो ऐतिहासिक सम्झौता प्रतिबन्धहरू फुकुवा गर्ने सर्तमा तेहरानको आणविक कार्यक्रमलाई सीमित गर्न बनाइएको थियो।

    नस्रले भने, ‘त्यो व्यवहारिकताको क्षण थियो – कहिलेकाहीँ राज्यको रक्षा गर्न सम्झौता गर्नुपर्ने हुन्छ। खामेनीले अमेरिकासँग न शान्ति न युद्धको नीति रुचाए। अमेरिका इरानको स्वाभाविक विरोधी हो भन्ने उनको बुझाइ थियो, त्यसैले इरानले अमेरिकासँग आफ्नो स्वतन्त्रता कायम राख्नुपर्छ भन्ने उनको मान्यता थियो।’

    यस दृष्टिकोणबाट हेर्दा, ‘आणविक सम्झौता अमेरिकासँगको सम्बन्ध सामान्यीकरण थिएन, बरु अमेरिकाले सोभियत संघसँग गरेजस्तै हतियार नियन्त्रणको सीमित सम्झौता मात्र थियो,’ नस्रले भने।

    तर सम्झौता भएको तीन वर्षपछि, राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट बाहिर निकाले। वासिङ्टनले इरानमाथि नयाँ प्रतिबन्धहरू लगाउन थालेपछि खामेनी फेरि आक्रामक शैलीमा फर्किए। उनले अमेरिकासँगको वार्ता अस्वीकार गरे र सम्झौताको बिस्तारै उल्लङ्घन गर्न सुरु गरे।

    त्यसपछिका वर्षहरूमा, इरानले युरेनियमको प्रवर्धन ६० प्रतिशतसम्म पुर्‍यायो। यो यस्तो स्तर हो जहाँबाट हतियार बनाउन चाहिने ९० प्रतिशतको स्तरमा पुग्न निकै कम समय लाग्छ। इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ। सन् २००३ मा खामेनीले आणविक हतियार निर्माण, प्रयोग र भण्डारणलाई निषेध गर्ने फतवा जारी गरेका थिए।

    पश्चिमी प्रतिबन्धहरूले असर गर्दा र महँगी बढ्दै जाँदा, सरकारले पेट्रोलको मूल्य बढाउने निर्णय गरेपछि सन् २०१९ मा इरानभरि विरोध प्रदर्शन भयो। एम्नेस्टी इन्टरनेशनलका अनुसार प्रदर्शनमाथि सुरक्षा बलले गरेको हिंसात्मक दमनमा १०० भन्दा बढी मानिस मारिए। खामेनीले प्रदर्शनकारीहरूलाई गुन्डाभन्दै क्रान्ति विरोधी र विदेशी शत्रुहरूले अशान्ति मच्चाएको आरोप लगाए।

    आन्तरिक उथलपुथल र बढ्दो एक्लोपनको बिचमा भएको राष्ट्रपतीय निर्वाचनमा इब्राहिम रइसीले जित हासिल गरे। ८० को दशकको अन्त्यमा भएको सामूहिक मृत्युदण्डसँग जोडिएका कारण उनी आलोचित थिए। उक्त चुनावमा इरानको इतिहासमै सबैभन्दा कम मतदान भएको थियो।

    रइसी जस्ता निकट सहयोगी राष्ट्रपति बनेपछि खामेनीले इरानको आन्तरिक क्षमतामा भर पर्ने प्रतिरोधको अर्थतन्त्रलाई प्रवर्द्धन गरे भने आफ्नो व्यापारलाई पूर्वतर्फ ढल्काउने प्रयास गरे तर यो दृष्टिकोणले ठोस परिणाम दिन सकेन।

    सन् २०२२ मा अनिवार्य हिजाब कानुन उल्लङ्घन गरेको आरोपमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भयो, जुन खामेनीका लागि अर्को ठुलो चुनौती बन्यो। सामाजिक प्रतिबन्ध र प्रदर्शनमाथिको क्रूर दमनको जिम्मेवार व्यक्तिका रूपमा अयातोल्लाहको चर्को आलोचना भयो। एम्नेस्टी इन्टरनेशनलका अनुसार उक्त प्रदर्शनमा ५०० भन्दा बढी मारिए।

    फेरि पनि, खामेनीले यसलाई राष्ट्रिय सुरक्षाको विषयको रूपमा हेरे। उनले पश्चिमी र क्षेत्रीय शत्रुहरूले अशान्ति भड्काएको आरोप लगाउँदै यी विरोध प्रदर्शनहरू अमिनीको मृत्यु वा हिजाब लगाउने विषयमा नभई विदेशी हस्तक्षेपको परिणाम भएको तर्क गरे। उनले भनेका थिए, ‘यो इस्लामिक इरानको स्वतन्त्रता, प्रतिरोध, शक्ति र सामर्थ्यको बारेमा हो। कुरा यही हो।’

    ‘प्रतिरोधको धुरी’

    खामेनीको विचारमा सम्भावित बाह्य आक्रमण (विशेषगरी अमेरिका र इजरायलबाट) रोक्न देशको सिमाना बाहिर पनि अग्रगामी रक्षा कायम राख्न स्वतन्त्रता र शक्तिको आवश्यकता थियो।

    यसको अर्थ इरान बाहिरका सहयोगीहरूलाई हतियार, प्रविधि र स्रोतसाधन दिएर प्रोक्सी सम्बन्धको सञ्जाल बुन्नु थियो, जसलाई प्रतिरोधको धुरी भनिन्छ। यो खामेनीको सबैभन्दा प्रभावकारी रणनीतिक परियोजना थियो।

    यस रणनीतिका मुख्य योजनाकार कासिम सुलेमानी थिए, जो खामेनीका कट्टर समर्थक र आईआरजीसीको विदेशी अपरेसन हेर्ने एलिट विंग कुद्स फोर्सका कमाण्डर थिए। २०२० मा अमेरिकाले सुलेमानीको हत्या गर्‍यो।

    यस गठबन्धनका मुख्य खम्बाहरू लेबनानको हिजबुल्लाह, सिरियाका पूर्व राष्ट्रपति बसर अल-असद, प्यालेस्टाइनको हमास, यमनका हुथी विद्रोही र इराकका सशस्त्र समूहहरू थिए।

    तर ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि यो गठबन्धन भत्किन सुरु भयो। त्यसपछि इजरायलले गाजामा नरसंहारकारी युद्ध छेड्यो, जसमा ७०,००० भन्दा बढी मानिस मारिएका छन् भने अधिकांश क्षेत्र भग्नावशेषमा परिणत भएको छ। युद्धमा हमासका धेरै शीर्ष नेताहरू मारिए।

    इजरायलले लेबनानमा हिजबुल्लाहमाथि पनि आक्रमण गर्‍यो, जसमा महासचिव हसन नसरल्लाह लगायत धेरै शीर्ष नेताहरू मारिए। त्यसपछि डिसेम्बर २०२४ मा विद्रोही बलहरूले सिरियाको बसर अल-असदको सत्ता ढाले। इरानले सिरिया हुँदै हिजबुल्लाहलाई हतियार आपूर्ति गर्ने बाटो पनि बन्द भयो।

    इरानका सहयोगीहरू कमजोर भइरहेको मौका छोपेर दशकौँदेखि इरानको आणविक कार्यक्रममा आक्रमण गर्न जोड दिइरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मौकाको फाइदा उठाए।

    १३ जुन २०२५ मा, इजरायली सेनाले अमेरिकाको जानकारीसहित इरानमाथि आक्रमण गर्‍यो। दर्जनौं वरिष्ठ कमाण्डरहरू र शीर्ष आणविक वैज्ञानिकहरू मारिए, र धेरै आणविक साइटहरू तथा नागरिक र सैन्य पूर्वाधारहरूमा आक्रमण गरियो। अमेरिकी गुप्तचर निकाय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानले आणविक हतियार बनाइरहेको छैन भनेर छुट्टाछुट्टै मूल्याङ्कन गरे पनि, इजरायलले इरानलाई आणविक हतियार उत्पादन गर्नबाट रोक्न यो आक्रमण गरिएको दाबी गर्‍यो। यो आक्रमण त्यतिबेला भयो जतिबेला तेहरान आफ्नो आणविक कार्यक्रमको बारेमा सम्झौता गर्न वासिङ्टनसँग वार्ता गरिरहेको थियो।

    इरानले तेल अभिभमाथि क्षेप्यास्त्रको वर्षा गर्दै जवाफ दियो। करिब दुई हप्तासम्म पूर्ण रूपमा युद्ध चल्यो, जुन अमेरिकाले तीन प्रमुख आणविक केन्द्रहरूमा ‘बंकर बस्टर’ बम खसालेपछि चरमोत्कर्षमा पुग्यो।

    नेतन्याहुले खामेनीलाई मार्ने धम्की दिए भने ट्रम्पले बिना सर्त आत्मसमर्पण गर्न माग गरे।

    तर त्यसको कुनै असर परेन। खामेनीले कडा जवाफ फर्काए, ‘इरान र यसको इतिहास बुझेका बुद्धिमान मानिसहरूले यस राष्ट्रसँग कहिल्यै धम्कीपूर्ण भाषा बोल्दैनन् किनभने इरानी राष्ट्रले आत्मसमर्पण गर्दैन। र अमेरिकीहरूले यो जान्नुपर्छ कि कुनै पनि अमेरिकी सैन्य हस्तक्षेपले निस्सन्देह अपूरणीय क्षति पुर्‍याउनेछ।’

    कतिपयका लागि, इजरायलसँगको १२ दिने युद्धपछि खामेनीको दृढताले फरक अर्थ राख्यो। इरानीहरूले इजरायलले गरेको इस्लामिक गणतन्त्रविरुद्ध विद्रोह गर्ने आह्वानलाई अस्वीकार गरे। तर राष्ट्रवादको यो लहर धेरै समय टिकेन।

    कठोर प्रतिबन्धले देशको अर्थतन्त्रलाई नराम्ररी गाँज्यो। डिसेम्बरको अन्त्यतिर, मुद्राको मूल्यमा आएको गिरावटका कारण सुरु भएको विरोध प्रदर्शन खामेनीको शासन अन्त्यको माग गर्दै देशव्यापी विद्रोहमा परिणत भयो। त्यसपछि दशकौंकै सबैभन्दा क्रूर दमन भयो। इरानी अधिकारीहरूले ३,००० भन्दा बढी मारिएको बताए पनि अमेरिकामा रहेको मानव अधिकार समूहले यो सङ्ख्या ७,००० भन्दा बढी रहेको दाबी गरेको छ।

    यस उथलपुथलपछि देश एउटा दोबाटोमा उभिएको थियो। विगतका विरोध प्रदर्शनहरूमा राज्यले कि त केही अनुदान दिएर वा सामाजिक प्रतिबन्धहरू खुकुलो पारेर स्थिति शान्त पार्न सक्थ्यो। तर यसपटक आन्दोलनको मुख्य कारण बनेको आर्थिक समस्या समाधान गर्न ऊसँग निकै कम विकल्पहरू थिए। विशेषज्ञहरूका अनुसार इरानले प्रतिबन्ध हटाउन र अर्थतन्त्र सुधार गर्न कडा सम्झौताहरू गर्नुपर्ने थियो, नत्र थप उथलपुथलको सामना गर्नुपर्ने अवस्था थियो।

    यसले अमेरिका र इरानबिच प्रतिबन्ध फुकुवाको बदलामा तेहरानको आणविक गतिविधि सीमित गर्ने विषयमा नयाँ चरणको वार्ता सुरु गरायो। प्रगति भएको दाबी गरिए तापनि संयुक्त अरब इमिरेट्स र जेनेभामा भएका धेरै चरणका वार्ताहरू कुनै निष्कर्षमा पुग्न सकेनन्।

    अमेरिकाले इरानलाई आफ्नो आणविक पूर्वाधार पूर्ण रूपमा नष्ट गर्न, ब्यालेस्टिक क्षेप्यास्त्रको भण्डार सीमित गर्न र क्षेत्रीय सहयोगीहरूलाई समर्थन गर्न बन्द गर्नुपर्ने माग राखेको थियो। तेहरानले नागरिक प्रयोजनको लागि युरेनियम प्रवर्धनमा सीमितता लगाउने विषयमा लचकता देखाए पनि क्षेप्यास्त्र र आफ्ना प्रोक्सीहरूको विषयलाई भने सम्झौता गर्न नसकिने अडानमा राख्यो।

    यसैबिच, अमेरिकाले इराकमा २००३ को आक्रमणपछि यस क्षेत्रमा आफ्नो सबैभन्दा ठुलो सैन्य हतियार भण्डार जम्मा गर्‍यो।

    २८ फेब्रुअरीमा, ट्रम्पले अमेरिकाले इरानमा ठुलो सैन्य कारबाही सुरु गरेको घोषणा गरे। आफ्नो भाषणमा अमेरिकी राष्ट्रपतिले अमेरिकाले इरानमा सत्ता परिवर्तन चाहेको स्पष्ट पारे।

    ‘तपाईंहरूको स्वतन्त्रताको घडी आइसकेको छ,’ ट्रम्पले शनिबार बिहानको आफ्नो सम्बोधनको अन्त्यमा इरानी जनतालाई भने, ‘हामीले हाम्रो काम सकेपछि, आफ्नो सरकार आफ्नो हातमा लिनुहोस्। यो तपाईंहरूको हुनेछ। यो सायद पुस्तौंपुस्ताका लागि तपाईंहरूको एक मात्र मौका हुनेछ।’

    उनले यसअघिका कुनै पनि अमेरिकी राष्ट्रपतिले नगरेको काम गर्न आफू ‘तयार रहेको’ बताएका थिए।

    अल जजिरा

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ