काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगाहमा श्रद्धापूर्वक मनाइँदैछ। बिहानैदेखि मुस्लिम समुदायका मानिसहरू नजिकैका मस्जिदमा गई सामूहिक नमाज अदा गर्दै एकापसमा शुभकामना आदान–प्रदान गरेका छन्।
दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिदहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ। बकर इद मुस्लिम पात्रो अनुसार इदुल फित्र (रमजान) पछि ७०औँ दिनमा मनाइने पर्व हो।
धार्मिक मान्यताअनुसार, करिब १४४० वर्षअघि अल्लाहको आदेशमा नबी इब्राहिम अलेह सलाम आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको ऐतिहासिक क्षणको सम्झनामा यो पर्व मनाइन्छ। अन्तिम घडीमा अल्लाहले इस्माएलको सट्टा स्वर्गीय दुम्बाको बलि स्वीकार गरेको विश्वास छ। त्यसैको सम्झनामा मुस्लिम समुदायले यस दिन धार्मिक रूपमा जायज जनावरहरूको कुर्बानी (बलि) दिने परम्परा निर्वाह गर्छन्।
बकर इद तीन दिनसम्म मनाइन्छ। कुर्बानी गरिएको मासुलाई तीन भागमा बाँड्ने चलन छ— एक भाग गरिबलाई, अर्को इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने धार्मिक मान्यता रहेको जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए।
यस पर्वको एउटा पक्ष हज यात्रासँग पनि जोडिएको छ। यस अवसरमा मक्का र मदिना जानु शुभ मानिन्छ। गृह मन्त्रालयअन्तर्गतको हज समिति सचिवालय मार्फत हज यात्रीहरूको व्यवस्थापन गरिन्छ। मक्का–मदिना जान नसक्नेहरूले भने घरमै कुर्बानी गरेर पर्व मनाउने गर्छन्।
मौलाना रहमत अलीका अनुसार, नबी इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा जन्मिएका मोहम्मद सलल्लाह अलेह वसल्लम ले इस्लाम धर्मको प्रचार प्रसार गरी हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए। यो ग्रन्थ मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा अध्ययन अध्यापन गरिन्छ।
बकर इदको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।
प्रतिक्रिया