काठमाडौं । मनसुन शुरु भएसँगै नेपालमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन्।
पुस महिनादेखि हालसम्म देशभर १,०८१ जना डेंगु संक्रमित पुष्टि भएका छन्। संक्रमितको संख्या प्रदेशअनुसार फरक देखिएको छ। बागमती प्रदेशमा २९७, कोशीमा २३९, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेश प्रदेशमा १४ जना संक्रमित रहेका छन्।
ईडीसीडीका निर्देशक डा. चन्दभाल झाका अनुसार विगत १० वर्षको तथ्यांकले डेंगु असारदेखि असोजसम्म सबैभन्दा बढी फैलिने देखाएको छ। हाल संक्रमण अघिल्लो वर्षको तुलनामा कम देखिए पनि आगामी चार महिना (असार, साउन, भदौ, असोज) अत्यधिक जोखिमपूर्ण हुने बताएका छन्।
पहाड हुँदै हिमालसम्म डेंगु
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नेपालमा पहिलोपटक सन् २००४ मा चितवनमा देखा परेको थियो। त्यसयता डेंगु संक्रमण क्रमशः तराई, पहाड हुँदै हाल हिमाली भेगसम्म फैलिएको छ।
सन् २०२० मा धरानबाट सुरु भएको डेंगुले १८ हजारभन्दा बढीलाई सङ्क्रमण गरायो भने १२ जनाको ज्यान गयो। सन् २०२२ मा सबै ७७ वटै जिल्लामा डेंगु फैलँदा ५४ हजारभन्दा बढी संक्रमित भए, जसमध्ये ८८ जनाले ज्यान गुमाए। त्यसको एक वर्षपछि २०२३ मा कोशी प्रदेशमा मात्र ५२ हजारभन्दा बढी संक्रमित हुँदा २० जनाको मृत्यु भएको थियो। गत वर्ष (२०२४) मा १३ जनाको ज्यान गएको थियो।
अब सदाबहार भयो डेंगु
ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार पहिले गर्मी मौसम र तराईका भूभागमा सीमित रहेको डेंगु संक्रमण अहिले चिसो भेग र उच्च स्थानसम्म पुगेको छ। उनका अनुसार “१२–१३ डिग्री तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सजिलै बाँच्न सक्छ।” यो परिवर्तन जलवायु परिवर्तन र लामखुट्टेको अनुकूलन क्षमताका कारण भएको हो।
घर वरिपरिका खुला ड्रम, बाल्टिन, टायर, कौसी खेतीका गमला, खाल्डाखुल्डी जस्ता स्थानहरू लामखुट्टेका लागि प्रजननस्थल बन्ने भएको सबै सफा राख्न, झुल लगाएर सुत्न र सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया