विराटनगर । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर प्रशिक्षक बेपत्ता भएका छन् ।
गोताखोर प्रशिक्षक सशस्त्र प्रहरीका सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन्। सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बिहीबार बिहानदेखि बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि सप्तकोशीमा अभ्यास गराएको थियो ।
अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका– १ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ उनीहरु अक्सिजनसहित बेपत्ता भएका हुन्।
उनीहरू पानीको सतहमुनि परेको भूमरीमा फसेर बेपत्ता भएको हुनसक्ने अनुमान प्रहरीको छ। प्रशिक्षक नै बेपत्ता भएपछि तालिममा सहभागी प्रशिक्षार्थीहरूले तत्कालै खोज्ने प्रयास गरेका थिए। उनीहरूलाई समेत केहीबेर बगाएको थियो।
तालिमको समापन शनिबार हुने तयारी थियो। बेपत्ता गोताखोरको खोजीमा सप्तरी र सुनसरीबाट थप उद्धार टोली परिचालन भएको छ। बेपत्ता भएका साउद डोटी र राजवंशी झापाका हुन्।
प्रतिक्रिया