काठमाडौँ । बुधबार साँझदेखि परेको वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा केही राहत मिलेको छ। केही दिनअघि लगातार उच्च प्रदूषणको सूचीकृत सहरमा परेको काठमाडौँ बिहीबार बिहान भने आठौँ स्थानमा झरेको छ।
आईक्यू एयरको बिहीबार बिहान ९:१५ बजे मापन अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) १३० रहेको छ। यो स्तर अझै पनि स्वास्थ्य समस्या भएका व्यक्तिहरूका लागि हानिकारक मानिन्छ।
विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसार काठमाडौँको हावामा रहेको पीएम २.५ को मात्रा ९.४ गुणा बढी रहेको देखिएको छ।
हाल विश्वको सर्वाधिक प्रदूषित सहरहरूको सूचीमा भारतको नयाँ दिल्ली पहिलो स्थानमा रहेको छ। त्यसपछि पाकिस्तानको लाहोर दोस्रो र भियतनामको हानोई तेस्रो स्थानमा छन्। काठमाडौँ भने आठौँ स्थानमा कायम छ, जुन वातावरणीय दृष्टिकोणले अझै चिन्ताजनक अवस्था हो।
सचेत रहन विज्ञहरूको आग्रह
वातावरण विज्ञहरूले अझै पनि सवारी साधनको अत्यधिक प्रयोग, निर्माणजन्य धुलो र फोहोर व्यवस्थापनको अभावलाई काठमाडौँको वायु प्रदूषणको प्रमुख कारण बताउँदै आएका छन्।
वातावरण विभागले प्रदूषणको मात्रा उच्च हुने बेलामा बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र घरमै बस्न आग्रह गर्दै आएको छ।
प्रतिक्रिया