• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    एक हप्तामै उल्टियो ट्रम्पको निर्णय, ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क

    1.9K
    SHARES



    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोक्ने निर्णय गरेका छन्। एक हप्ताअघि मात्रै शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न निर्णय उल्ट्याउनु परेको बताएका छन् ।

    तर चीनमाथिको शुल्क भने उल्टो झन् बढाइएको छ। ट्रम्पले चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएका छन्। चीनले अमेरिकामाथि जवाफस्वरूप भन्सार शुल्क ८४ प्रतिशत पुर्‍याएपछि ट्रम्पले यस्तो कडा निर्णय लिएका हुन्।

    ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा लेखेका छन्, “चीनले विश्व बजारको सम्मान गर्दैन। अब लुट्ने दिन सकिएको हो भन्ने सन्देश दिन यो निर्णय लिएको हुँ।”

    वार्ता गर्नेलाई कर छुट, नाफामा अमेरिका
    ट्रम्पका अनुसार ती ७५ देशले अमेरिका विरुद्ध कुनै जवाफी कदम नचालेको र वार्ताको संकेत देखाएकोले भन्सार शुल्क अस्थायी रूपमा रोकिएको हो। उनले भने, “यसले नयाँ व्यापार सम्झौताहरू गर्न समय दिनेछ। अमेरिका संवादको पक्षमा छ।”

    अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि भन्सार शुल्क घटाउने नीतिलाई समर्थन गर्दै भने, “जुन देश वार्ताका लागि तयार छन्, तिनीहरूमाथि १० प्रतिशत मात्रै भन्सार लाग्नेछ — जसमा क्यानडा र मेक्सिको पनि छन्।”

    भन्सार शुल्क रोक्नुका ५ कारण

    भन्सार शुल्कका कारण विश्व बजारमा १० लाख करोड डलरको गिरावट आएको थियो। तर निर्णय उल्टिएपछि अमेरिकी सेयर बजारको मूल्य ३.१ लाख करोड डलरले बढेको छ।

    ट्रम्पनिकट धेरै सल्लाहकार र इलोन मस्कले पनि भन्सार शुल्क रोक्न सल्लाह दिएका थिए। रिपब्लिकन पार्टीका नेताहरू — मिच म्याककोनल, र्‍यान्ड पउल, सुसन कोलिन्स, लिसा मर्कोभस्कीले भन्सार शुल्कलाई ‘असंवैधानिक, अर्थतन्त्रविरोधी र कूटनीतिक रूपमा खतरनाक’ भनेका थिए।

    भन्सार शुल्क वृद्धिले अमेरिकी बन्डहरूमा अप्रत्याशित बिक्री सुरु भएको थियो। क्रूडको मूल्यमा भारी गिरावट आएको थियो। कोरोना कालको जस्तो अवस्था आउन थालेको थियो।

    वाल स्ट्रिटका बैंकहरूले भन्सार शुल्कका कारण मूल्यवृद्धि, बेरोजगारी र आर्थिक मन्दी अमेरिका भित्रिने चेतावनी दिएका थिए । ट्रम्पले भन्सार शुल्क रोकिने घोषणा गर्नु भन्दा ४ घण्टा अघिनै ट्रुथ सोशलमा लेखेका थिए, ‘यो किनमेल गर्ने उत्कृष्ट समय हो।’

    त्यसपछि भन्सार शुल्क रोक्ने निर्णय आएपछि बजारमा व्यापक सुधार आयो। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार डाउ जोन्स २,६०० अंक (७.१ प्रतिशत) माथि उकालो लाग्यो भने एसएन्डपी ५०० मा ९.५ प्रतिशतले वृद्धि भयो ।

    नास्डाक १,५३६ अंक (१०.३ प्रतिशत)ले उकालो लाग्यो । यो सन् २००८ को मन्दीपछि सबैभन्दा ठूलो वृद्धि हो । टेस्लाको सेयरमा सबैभन्दा बढी २०.०१ प्रतिशत वृद्धि भयो। बिटकोइन पनि ६ प्रतिशतले बढ्यो। एक दिन अघि भन्सार शुल्क युद्धले बजारमा ४ प्रतिशतसम्मको गिरावट ल्याएको थियो।

    चीनमाथि मात्र किन कडाइ ?

    अमेरिका चीनबाट वार्षिक ४४० अर्ब डलर बराबरको सामान आयात गर्छ। अहिले चीनले अमेरिकामाथि शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याएपछि ट्रम्पले १२५ प्रतिशत भन्सार शुल्क घोषणा गरेका हुन्। अर्थमन्त्री बेसन्टका अनुसार, “जसले अमेरिका विरोधी मोर्चा बनाएनन्, उनीहरूलाई पुरस्कारस्वरूप शुल्क हटाइएको हो।”

    युरोपसँगको सम्बन्ध अझै अन्योल

    युरोपेली संघले २३ अर्ब डलर बराबरको अमेरिकी वस्तुमाथि शुल्क प्रस्ताव गरिसकेको छ। तर ट्रम्प प्रशासनले युरोपमाथि कस्तो शुल्क लाग्ने भन्ने अझै स्पष्ट पारेको छैन।

    भन्सार शुल्कको यो नीतिगत परिवर्तनलाई ट्रम्पले ९० दिनको कूटनीतिक अवसरको रूपमा व्याख्या गरेका छन्। उनले भने, “यी ७५ देशहरूसँग अब गहिरो व्यापार सम्झौता गर्न समय आएको छ।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ