काठमाडौं । ठमेलमा ड्युटी खटिएको प्रहरीलाई कुट्ने गोपालबहादुर शाहीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । २४ माघको राति प्रहरी कुटेर फरार रहेका शाहीले आत्मसपर्मण गरेका हुन् ।
आत्मसर्मपण गरेका शाहीलाई पनि ७ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।
योसँगै प्रहरी कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका ६ जनामध्ये चार जना प्रहरी हिरासतमा पुगेका छन् । यसअघि गत बिहीबार साँझ नयाँ बानेश्वरबाट परिसरको टोलीले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई पक्राउ गरेको थियो ।
त्यसभन्दा अघि ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।
पक्राउ पुर्जी जारी भएका नवीन ऐरी र सौजन्य शाही भने अझै फरार छन् । पक्राउ परेका सबैजनाविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ ।
यो समूहले २४ माघको राति प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टलाई कुटेका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।
मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो । आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर हिर्काइएको थियो ।
प्रतिक्रिया