काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील मदानस्थलमा १६ जना प्रहरी परिचालन गर्नेगरी निर्वाचन सुरक्षा योजना पारित गरेको छ ।
संवेदनशील मतदानस्थलमा १४ जना र सुरक्षाको दृष्टिकोणले सामान्य मतदान स्थलमा १२ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ ।
२०७९ वैशाख ३० मा भएको स्थानीय चुनावको विश्लेषणको आधारमा ५४ वटा मतदानस्थललाई अति संवेदनशील, ४७ मतदानस्थललाई संवेदनशील र ६२ वटालाई सामान्य मतदानस्थलमा वर्गीकरण गरिएको छ ।
सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’मा वर्गीकरण गरिएको छ ।
डाक्नेश्वरीमा वडा अध्यक्ष, पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष र नलगाडमा उपप्रमुखको निर्वाचन हुँदैछ । मतदान स्थलमा केन्द्र थप भएमा ५ जना प्रहरी थप परिचालन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
कीर्तिपुर नगरपालिकामा मेयर, जाजरकोटको नलगाड नगरपालिकामा उपमेयर, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको निर्वाचन हुँदैछ ।
निर्वाचनमा ३ तहको सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ । सुरक्षा घेराको पहिलो तहमा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेना रहन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षाको लागि आवश्यकता अनुसार सेना परिचालन गर्न सरकारलाई अनुमति दिएका छन् ।
उपनिर्वाचनको सुरक्षाका लागि प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् । प्र्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा र सशस्त्र प्रहरी बलले एसएसपी दिग्विजय सुवेदीको नेतृत्वमा निर्वाचन सेल गठन गरेका हुन् ।
प्रतिक्रिया