काठमाडौँ । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ । मृत भेटिएकाहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् ।
उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।
उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।
काठमाडौं महानगरपालिका–९ प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको घर भाडामा लिएर खोटाङका रामजी कटुवालले जन्मभूमि होटल सञ्चालनमा ल्याएका थिए । उनीहरू सोही होटलमा पौन ७ बजे पुगेका थिए । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए ।
फरेन्सिक विज्ञद्वारा अनुसन्धान सुरु, आफन्त आएपछि शव उठाइने
घटनाको अनुसन्धान गर्न फरेन्सिक विज्ञसहितको टोली घटनास्थल पुगेको छ । अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । त्यसपछि प्रहरीले फरेन्सिक विज्ञसहितको टोली झिकाएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार अहिले फरेन्सिकको टोली घटनास्थल पुगेर काम गरिरहेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली घटनास्थल पुगेर काम सुरु गरेको छ ।
आफन्त आएपछि मात्रै शव उठाएर पोष्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ । मृतकका एक आफन्त अहिले घटनास्थल पुगेका छन् ।
प्रतिक्रिया