काठमाडौं । नेपालगञ्जबाट बेपत्ता निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको समूहसँग गृह मन्त्रालयले वार्ता गरेको छ ।
रुबी खानको नेतृत्वमा भइरहेको प्रदर्शनमा सहभागी महिलाहरुलाई बोलाएर मन्त्रालयमा छलफल गरिएको थियो । त्यसक्रममा केही विषयमा सहमति समेत जुटेको मन्त्रालय स्रोतले बतायो ।
खानको नेतृत्वमा डेढ महिनादेखि नेपालगञ्जका महिलाहरुले कुर्मीको न्याय माग्दै आन्दोलन गरिरहेका थिए । सरकारले खानसँग यसअघि नै चार पटक सहमति समेत गरिसकेको थियो ।
पाँचौं पटक उनी कुर्मी बेपत्ता प्रकरणको अदालतसम्म पुर्याइदिन माग गर्दै प्रदर्शनमा उत्रिएकी थिइन् । खानको समूहले सोमबार सत्तारुढ नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा समेत धर्ना दिएको थियो ।
२५ माघ ०७५ को राति अचानक बेपत्ता भएकी बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १७, परस्पुरकी निर्मला कुर्मीको अपहरणपछि हत्या भएको पुष्टि १४ पुस ०७७ मा भएको थियो । तर, यो विषयमा अनुसन्धान थाल्न नै तीन वर्ष लाग्यो ।
तीन वर्षमा चार चरणसम्मको कठिन आन्दोलनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले घटनाको अनुसन्धान गरेर ११ महिनाअघि प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । मुद्दा दर्ता गर्न भन्दै प्रधान कार्यालयले त्यतिवेलै जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रतिवेदन पठाएपछि अझै सरकारी वकिलको कार्यालयमा भने पेस हुन सकेको छैन ।
प्रतिक्रिया