काठमाडौँ । धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आइतबार बिहान थप एउटा बस पुरिएको आशंका गरिएको छ।
‘बस पुरिएको जस्तो देखिएको छ। जिल्ला प्रहरी कार्यालयबाट एसपीकै नेतृत्वमा प्रहरीहरू त्यहाँ पुग्दै हुनुहुन्छ,’ उनले भने। यसैबीच गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ।
ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस लापुबेसीबाट काठमाडौं जानका लागि छुटेको र खानीखोलाबाट सम्पर्कविहीन भएको कम्पनीका अध्यक्ष नारन खत्रीले जानकारी दिए।
‘लापुबेसीबाट बिहान ११ बजे बिहान छुटेको थियो। बसमा दुई–तीन जना मात्रै यात्रु भएको बुझेका छौं। बसमा गुरूङ र तिवारी थरका चालक र सहचालक हुनुहुन्थ्यो। उहाँहरूले जाम छ भनेर बताइरहनुभएको थियो। धादिङको धुनीबेसी नगरपालिकास्थित खानीखोला पुगेपछि सम्पर्कविहीन भएको छ,’ उनले भने।
यात्रुका आफन्तले पनि सम्पर्कमा नआएको भन्दै फोन गरिरहेको खत्रीले जानकारी दिए। हराएको बस झ्याप्ले खोलामा पुरिएको बस हुन सक्ने आकलन गरिएको छ।
प्रतिक्रिया