काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार परिवर्तनका लागि संविधान संशोधनलाई हतियारका रुपमा प्रयोग गरेको टिप्पणी गरेका छन् । एजेण्डाका रुपमा नभएर सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले कांग्रेस–एमाले संविधान संशोधनप्रति गम्भीर नभएको उनले बताए ।
संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर)को संयुक्त आयोजनामा सोमबार आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रम सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई–चार दिनअघिसम्म उहाँहरूले औपचारिक रुपमा कतै संविधान संशोधनको आवश्यकतबारे छलफल गर्नुभएको थिएन,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’
वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको प्रचण्डको भनाइ थियो ।
‘काग्रेस–एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो । जनतालाई पनि लुकाएर राखियो,’ प्रचण्डले भने, ‘जनताले सात बुँदे सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसद्मा पढेर त सुनाउनुभयो । तर, त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’
संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउन ठूला दलहरुको सहयोग नपाएको स्मरण गराउँदै प्रचण्डले संघीय निजामती ऐन संसद्सम्म पुर्याउन १८ महिना लागेको, बल्ल–तल्ल पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताए ।
संविधान निर्माण गर्दा आन्तरिक र बाह्य दुबै हिसाबले आफूले जोखिम मोलेको माओवादी अध्यक्ष प्रचण्डको भनाइ थियो ।
प्रतिक्रिया