काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरूको षड्यन्त्रप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित वृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारलाई सो सुझाव दिएका हुन् । अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरूमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सृजना गर्ने कुरामा सरकार र सम्बद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले विश्वविद्यालयहरूलाई पनि समय सीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरू तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराए ।
विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरूको हित अनुकूल हुने गरी अघि बढाउनका लागि सरकार र सम्बन्धित पक्षसँग वहृत छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताए । उनले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरूले जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए ।
उनले भने, ‘यहाँ अनेक माफियाहरूले चलखेल गरिरहेका छन् । नेपालको एजुकेसन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भइराखेको छ । ती सबै षड्यन्त्रहरूप्रति गम्भीर हुनुपर्ने आवश्यकता छ । र कसरी देशमा शिक्षा प्रणालीमा सुधार गर्ने हो ? दक्ष जनशक्ति तयार गर्ने हो ? योग्य जनशक्ति तयार गर्ने हो ? अब कुन कुन विषयमा आउने ५ वर्षमा कति जना व्यक्तिहरूलाई रोजगारी दिन सक्छौ ? त्यो हामी अगाडि सार्दैनौँ । त्यो सबै सन्दर्भमा पनि हामीले गम्भीरताका साथ ध्यान दिनु जरुरी छ ।’
अध्यक्ष नेपालले सरकारी नीति र कानुनमा रहेका त्रुटिहरूलाई हटाएर पनि मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताए ।
प्रतिक्रिया