दिपायल । डोटीमा जंगली जनावर मार्न गएका युवकको गोली लागेर मृत्यु भएको छ।
शुक्रबार बिहान डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा गोली लागेर ३० वर्षीय अमर थापाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार गोली लागेपछि थापाको घटनास्थलमै मृत्यु भएको हो।
थापामाथि कसरी गोली प्रहार भएको भन्नेबारेमा अनुसन्धान भइरहेको एसपी कोइरालाले जानकारी दिए। उनका अनुसार थापासँगै अरू दुइजना पनि शिकार खेल्न जंगल गएका थिए।
पूर्वीचौकी गाउँपालिका-६ का ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्लीबहादुर साउदलाई पक्राउ परेका छन्।
उनीहरूलाई धानबारीमा लुकेको अवस्थामा शुक्रबार राती करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको र घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया