काठमाडौं । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहिलो महिला सचिवको रूपमा राधिका अर्यालले पदभार ग्रहण गरेकी छिन् । अर्यालले बुधवार पदभार ग्रहण गरेकी हुन् ।
पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिइन् । उनले सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह, र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने बताएकी छन् ।
मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका गतिविधिबारे सचिव अर्याललाई जानकारी गराएका थिए । सरकारले उपराष्ट्रपति कार्यालयमा कार्यरत अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो । उनले लुम्बिनी प्रदेशको पहिलो महिला प्रमुख सचिवका रूपमा समेत काम गरिसकेकी छन् ।
सहसचिव रहँदा उनले सञ्चार मन्त्रालयमा नै प्रशासन तथा योजना महाशाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् ।
प्रतिक्रिया