• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सिमलताल घटना अध्ययन कार्यदलको समय सात दिन थप्ने ओली सरकारको निर्णय

    440
    SHARES



    काठमाडौँ । चितवनको सिमलतालमा भएको दुइटा गाडी दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय भएको छ। कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा थप सात दिन समय दिइएको कार्यदलका संयोजक छवि रिजालले बताए।

    ‘गृहमन्त्रीबाट सात दिन समय थप भएको जानकारी आएको छ। हामीले दुर्घटनास्थलको अध्ययन, दुर्घटनाबाट बाँचेकाहरूसँगको कुराकानी र सरोकारवालासँग छलफल गरेका छौं,’ रिजालले भने, ‘प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको हो।’

    अध्ययनका क्रममा सिमतालभन्दा माथिको भिरालो जमिनमा ग्रामीण सडक खनेको पाइएको, बाटो खन्दा निस्केको माटोको उचित व्यवस्थापन नभएको र त्यसैले भेलबाढी उत्पन्न गराएको पाइएको कार्यदलका सदस्यसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए।

    कार्यदलको अध्ययनले पनि माथिल्लो भेगबाट लेदोसहितको भेलबाढी आएको र दुई वटा बगाएको देखाएको छ। सडक डिभिजन भरतपुरले यही कुरालाई औंल्याएको थियो। सिमलतालको भेलबाढी गएको स्थान सिँदुरे गहिरोमाथि भिरालो परेको जमिन छ। त्यसको ठीक माथि डुम्रेबेंसी गाउँ छ। त्यही गाउँको निकास खोल्सी भएर बग्ने गर्छ। वर्षातमा मात्रै पानी बग्ने सिँदुरे गहिरोमा दुइटा खोल्सी मिसिन्छ।

    दाहिनेतर्फको खोल्सीमा पानी र थोरै परिमाणमा डेब्रिज अर्थात् गेग्रान बहाव भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। देब्रेतर्फबाट भने उच्च पानी र गेग्रान बहाव भएको देखिएको उल्लेख गरिएको छ। जसका कारण करिब ५.५ मिटर चौडाइको खोल्सी खोतलिएको सडक डिभिजन भरतपुरका एक कर्मचारीले जानकारी दिए। यसरी गेग्रान र पहिरो आउने खोल्सीको स्रोत पहिल्याउँदै जाँदा राजमार्गदेखि ९०० मिटर माथि पहिरो फेला परेको प्रतिवेदनमा उल्लेख छ।

    असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

    गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। बेपत्ता ६२ यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ। ७ जनाको सनाखत हुन बाँकी छ। यही घटनाको अध्ययन गर्न सरकारले असार ३१ गते गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो।

    कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया