काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।
मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । मनुराज शर्मा आफ्नै कर्मचारी भएको सौर्य एयरलाइन्सले आफ्नो विवरणमा उल्लेख गरेको छ । पारिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । यस्तै अधिराज भने नाबालक हुन् ।
बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ ।\
दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ ।
प्रतिक्रिया