• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिंहदरवारको छेउमै शक्तिशाली बम बिस्फोट भएपछि गृहमन्त्री थापाले बोलाए आकस्मिक बैठक

    10K
    SHARES



    काठमाडौं ।  मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै शक्तिशाली बम बिस्फोट भएपछि गृहमन्त्री राम बहादुर थापा बादलले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन् ।

    आइतबार सुकेधारा र सिंहदरवारनजिकै घट्टेकुलोमा शक्तिशाली बिस्फोटमा परी ३ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । घाइतेहरुको ओम अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घटना लगतै सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ । बिस्फोट लगत्तै गृहमन्त्री रामबहादुर थापाले सुरक्षा बैठक बोलाएको गृहमन्त्रालय स्रोतले जनाएको छ । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गृहमन्त्रालयका उच्च अधिकारीहरु सहभागी रहेको पनि स्रोतले संचारकेन्द्रलाई बतायो ।

    सिंहदरबारकै छेउमा रहेको अनामनगरमा र बुढानिलकण्ठ नगरपालिकामा पर्ने सुकेधारामा आइतबार दिउँसो ग्यास सिलिण्डर बम बिस्फोट भएको हो । बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । सुकेधारामा २ र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा ६ जना घाइते भएका छन् ।

    बिस्फोट कसले गराएको हो ? भन्ने एकीन भइसकेको छैन । यद्यपि बिस्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुन सक्ने अनुमान गरिएको छ । नेकपाले आफ्ना नेता कार्यकर्ता रिहाई माग गर्दै सोमबार बन्द आव्हान गरेको छ । बन्द आव्हानको अघिल्लो दिन त्रसित पार्ने उदेश्यले बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    यसैबीच प्रहरीले काठमाडौंको सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ । आइतबार अपराह्न सुकेधाराको एक सैलुन र घट्टेकुलोमा एक घरमा विस्फोट भएको थियो । सुरुमा प्रहरीले समेत सिलिण्डर विस्फोट भएको खबर आएको बताएको थियो ।

    तर, अनुसन्धानका क्रममा सिलिण्डर नभई बम विस्फोट भएको पाइएको छ । दुबै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन । सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन् ।

    त्यहाँ पनि घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन । प्रहरीले पनि दुबै घटनाको प्रकृति एउटै भएको बताएको छ । विस्फोटमा घाइते भएकाहरुलाई वीर र टिचिङ अस्तापल पुर्‍याइएको छ ।

    उनीहरुमध्ये ट्रमा सेन्टरमा पुर्‍याइएका दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइते ट्रमामा पुर्‍याइएका घाइतेहरुमा महत्तरी रामनगर १ का ५६ वर्षीय छोटु ठाकुर र सानीभेरी रुकुमका २६ वर्षीय रविन केसी रहेका छन् ।

    उनीहरुको आकस्मिक कक्ष उपचार भइरहेको छ। केसी नेकपानिकट अखिल क्रान्तिकारीका त्रिचन्द्र एकाइ अध्यक्ष भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। ठाकुर सुकेधारामा र केसी अनामनगर घटनामा घाइते भएका हुन्।

    सुकेधारा विस्फोटका ४ जना घाइतेलाई भने ओम अस्पताल लगिएको महाराजगन्ज वृत्तका डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । उनीहरुको परिचय खुलेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ