काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ ।
केन्द्रीय समिति सदस्य समेत रहेका विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । अनुशासन समितिका कार्यवाहक प्रमुख रमाकान्त रिजालले स्पष्टीकरण सोधिएको विषयमा भने जानकारी दिन अस्वीकार गरे ।
‘छानबिनमा भएको कुरा मिडियामा बोल्न मिल्दैन । उहाँ माथि छानबिन भइरहेको छ । ७/१० दिनपछि थाहा पाउनु हुन्छ ।’ रिजालले भने ।पार्टीमा केही विषयमा द्धिविधा भए स्पष्ट पार्नका लागि स्पष्टीकरण सोध्ने प्रचलन रहेकाले यसलाई ठूलो रुपमा लिनु नपर्ने विष्टले बताए ।
स्पष्टीकरणका लागि तोकिएको समयावधि र विषय रिजाल र विष्ट दुवैले खुलाउन चाहेनन् । विष्ट असार २ मा भारतको मुम्बईमा हुने रास्वपाको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेसँगै जाने तय भएको छ । रास्वपा निकट प्रवासी नेपाली सम्पर्क मञ्च भारतको महाराष्ट्र राज्य समितिका प्रथम राज्य भेला आह्वान गरिएको छ ।
भेलाको प्रमुख अतिथिमा उपसभापति डा. वाग्लेलाई निमन्त्रणा गरिएको छ । विष्ट मुम्बइ आउने गरी त्यहाँको समितिले प्रचार गरेपनि उनी त्यहाँको कार्यक्रममा सहभागी नहुने भएका छन् । विष्टले भने, ‘आन्तरिक कामहरु छ । मुम्बईको कार्यक्रममा जान्न होला ।’
स्पष्टीकरण सोधिएका प्रदेश सभापति विष्ट पेशाले इञ्जिनियर हुन् ।
प्रतिक्रिया