काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक र रामेछापको सिमानास्थित मन्थली नगरपालिकामा भएको बोलेरो जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–३ स्थित ऐरमवास देवी थानको पूजा सकेर फर्किँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो जिप कठजोर ठाँटी भन्ने स्थानमा सडकबाट तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए।
डिएसपी सिंहका अनुसार दुर्घटनामा परेका अन्य १२ जना यात्रु घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको छ।
दुर्घटनाबारे जानकारी दिँदै मन्थली नगरपालिका–३ का वडाध्यक्ष कृष्णगोपाल थापाले बोलेरो क्षमताभन्दा बढी यात्रु बोकेको र वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने आशंका व्यक्त गरे।
घटनास्थलमा स्थानीयबासी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिको सहयोगमा उद्धार कार्य गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया