बैंकक, थाइल्यान्ड । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको औपचारिक भ्रमणका लागि बैंकक आइपुगेका छन्। यस भ्रमणका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन्।
प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समयअनुसार ६:१५ बजे सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनलाई स्वागत गर्न थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ, थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्न लगायत अन्य उच्च अधिकारीहरू उपस्थित थिए।
नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो। यो भ्रमण थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा भएको हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले दुवै मुलुकबीचको आपसी सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतका उच्च पदस्थ अधिकारीहरू छन्।
यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न उच्चस्तरीय भेटघाट गर्ने, द्विपक्षीय सहकार्यबारे छलफल गर्ने तथा नेपाल-थाइल्यान्ड सम्बन्धलाई नयाँ उचाइमा लैजाने रणनीतिहरू तय गर्ने अपेक्षा गरिएको छ।
साथै, बिमस्टेक शिखर सम्मेलनमा उनले बहुपक्षीय क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्ने विषयमा नेपालको धारणा प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया