काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवासको गेटबाटै फर्काइएपछि महानगरले अर्को प्रक्रिया अपनाएर पत्र बुझाउने भएको छ ।
आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेपनि महानगरको टोलीलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । उनीहरुलाई प्रहरीले पूर्वराजासँग सम्बन्धित विषय नभएको भन्दै गेटबाटै फर्काइदिएको हो ।
काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेपछि अर्को प्रक्रियामार्फत पत्र बुझाइने बताए । ‘हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ’, प्रमुख पाण्डेको भनाइ छ ।
महानगरपालिकाले शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।
प्रतिक्रिया