धनगढी । आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पदबाट हट्ने घोषणा गरेका हुन्। उनले सार्वजनिक अडियोप्रति प्रतिक्रिया दिँदै नैतिकताका आधारमा पदमा नरहने निर्णय लिएको बताए।
अडियोमा चौधरीले दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आर्थिक लाभ लिने गरी बनाउने विषयमा छलफल गरिरहेको सुनिन्छ। उनले उक्त अडियो भदौ महिनाको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्तिहरूसँग सामान्य छलफल मात्रै गरेको दाबी गरेका छन्।
“भर्खर मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा छलफल गरेको हुँ, तर मेरो नियत गलत थिएन,” चौधरीले भने। उनले अडियोमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफैले नगरेको दाबीसमेत गरे।
तर, अडियोमा कार्यविधि आइतबार पारित गर्ने, २५ देखि ३० आवश्यक पर्ने र मुख्यमन्त्रीलाई पाँच दिने भनिएको कुराले विवाद चुलिएको थियो। मन्त्री चौधरीले भने अहिलेसम्म कार्यविधि पारित नभएको बताएका छन्।
आफूमाथि छानबिन हुनुपर्ने माग गर्दै चौधरीले दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए। उनले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद र अन्य दलहरूको षड्यन्त्रका कारण आफू विवादमा तानिएको दाबी समेत गरेका छन्।
प्रतिक्रिया