काठमाडौँ । पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा प्रदर्शनको नेतृत्व गर्ने प्रमुख कमान्डरमध्येका दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गर्दैछ भन्ने समाचार बाहिरिएपछि उनि अहिले फरार भएका छन्। मेडिकल व्यवसायी प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले शुक्रबार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो।
प्रहरीका अनुसार, प्रसाईको खोजी तीव्र रूपमा भइरहेको छ। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले विभिन्न युनिटका टोलीहरू परिचालित भइसकेको जानकारी दिएका छन्। गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार, संयोजक दुर्गा प्रसाई आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक बनेको थियो।
रिजालले भने, “तोडफोड र लुटपाटमा संलग्नहरूबारे सूक्ष्म निगरानी गरिरहेका छौँ, आपराधिक काममा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउँछौँ।” प्रहरीले राजधानीका विभिन्न स्थानहरूमा व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ। सुरक्षाकर्मीहरूले प्रसाईका नजिकका सहयोगीहरूलाई समेत निगरानीमा राखेको बताइएको छ।
यसअघि ललितपुरको ग्वार्कोबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए । पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपालसहित थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ छन् ।
उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । प्रदर्शनको अर्को आयोजक समूह ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नजरबन्द गरेको छ।
प्रतिक्रिया