काठमाडौँ । प्रहरीले पुर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपालसहित थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ छन् ।
यस्तै यस अघि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्। मिश्र र राणा बीएण्डडी अस्पतालमा बिरामी भेटेर फर्किने क्रममा प्रहरीले ‘केही बुझ्नुपर्ने’ भन्दै नियन्त्रणमा लिएको हो। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी हाल टेकुस्थित कार्यालयमा राखिएको छ।
यसअघि शुक्रबार दिउँसो राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने राजधानीमा तोडफोडका घटनाहरू समेत भएका थिए। सो प्रदर्शनमा राजा समर्थक समूहका नेताहरूका साथै राप्रपाका शीर्ष नेताहरू पनि सहभागी थिए। उक्त प्रदर्शनको मुख्य आयोजक दुर्गा प्रसाईं रहेका थिए भने विभिन्न राजावादी समूहहरू संयुक्त रूपमा उपस्थित थिए।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो, जसमा केही प्रदर्शनकारी घाइते भएका थिए भने सुरक्षाकर्मीहरू समेत घाइते भएका थिए। राजधानीका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनाहरू समेत भएको प्रहरीले जनाएको छ। सुरक्षा संयन्त्रले स्थिति नियन्त्रणमा लिनका लागि पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो।
प्रतिक्रिया