• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौँमा आज दुई फरक समूहका शक्ति प्रदर्शन, ३५ सय प्रहरी परिचालन

    2K
    SHARES



    काठमाडौँ । गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थकहरू आज राजधानीका फरक स्थानमा शक्ति प्रदर्शन गर्दैछन्। समाजवादी मोर्चाले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रदर्शन गर्नेछ भने पूर्वराजा समर्थकहरूले तीनकुनेमा भेला हुने तयारी गरेका छन्। सम्भावित मुठभेडलाई रोक्न सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको छ।

    समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संयुक्त रूपमा प्रदर्शन गर्न लागेका हुन्। उनीहरूले बबरमहलबाट माइतीघर, त्रिपुरेश्वर हुँदै भृकुटीमण्डपसम्म जुलुस निकाल्नेछन्। मोर्चाले करिब १ हजार स्वयंसेवक परिचालन गर्ने जनाएको छ।

    यता व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकहरू दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ब्यानरमा तीनकुनेमा भेला हुँदैछन्। नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ समेत प्रसाईँ समूहसँग मिलेर प्रदर्शन गर्न लागेको बताइएको छ।

    काठमाडौँको सुरक्षा व्यवस्थाः ३५ सय प्रहरी परिचालन

    दुवै पक्षले एकै दिन प्रदर्शन गर्ने भएपछि उपत्यका प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ। ३५ सय सुरक्षाकर्मी परिचालन गर्ने योजना रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए। सुरक्षा निगरानीका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ, जसमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरीका प्रतिनिधिहरू खटिनेछन्।

    पूर्वराजा समर्थकलाई चक्रपथ बाहिरमात्रै जुलुस निकाल्न अनुमति

    प्रहरीले पूर्वराजा समर्थकलाई चक्रपथ बाहिरमात्र जुलुस निकाल्न दिने निर्णय गरेको छ। चाबहिल, सातदोबाटो हुँदै उनीहरू तीनकुनेसम्म प्रदर्शन गर्न पाउनेछन्।

    भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई प्रहरीले कोटेश्वरबाट बालकुमारी तर्फ डाइभर्सन गरेर पठाउने भएको छ । समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ ।

    कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । मोर्चाले १ हजार स्वयंसेवक परिचालन गर्ने सुरक्षा निकायलाई जानकारी गराएको छ ।

    मानव अधिकार आयोगको आग्रह

    राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनहरू शान्तिपूर्ण बनाउन दुबै पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सुरक्षा निकायसँग छलफल गरी शान्ति सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको बताएका छन्।

    सुरक्षाकर्मीले निगरानी बढाएको छ, र कुनै अप्रिय घटना हुन नदिन चक्रपथभित्र र बाहिर रणनीतिक रूपमा प्रहरी परिचालन गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ