काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी सरकारको निर्णयअनुसार हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ। लामो समयदेखि चलिरहेको विवाद अन्ततः घिसिङको बहिर्गमनसँगै टुंगिएको छ।
केपी ओली नेतृत्वको सरकार गठनपछि घिसिङले ट्रंकलाइन र डेडिकेटेड लाइनको बक्यौता तिर्न बाँकी उद्योगहरूको बिजुली कटौती गरेपछि सरकारसँग उनको टकराव सुरु भएको थियो। सरकारले उद्योगहरूको लाइन पुनः जडान गर्न निर्देशन दिए पनि घिसिङले मन्त्रिपरिषद्को निर्णय बिना त्यसो गर्न अस्वीकार गरेका थिए।
सरकार र घिसिङबीचको यो मतभेद बढ्दै गएपछि उनलाई हटाउने तयारी सुरु भयो। कानुनी जटिलता भएकाले ऊर्जामन्त्री दीपक खड्काले कुलमानमाथि दबाब बनाउन स्पष्टीकरण सोध्ने, कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिनेदेखि सार्वजनिक रूपमै आलोचना गर्नेसम्मका काम गरेका थिए ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने एकसूत्रीय एजेन्डामा सरकार केही समय होल्डमा बसेको थियो । साउनमा कार्यविधि सकिन लागेका कुलमानलाई केही महिनाअगाडि हटाउँदा आउन सक्ने कानुनी र राजनीतिक जटिलता थेग्न नसक्ने निष्कर्षसहित सरकार पुगे जस्तो देखिएको थियो ।
यसअघि मन्त्री खड्काले लोडसेडिङ अन्त्यमा कुलमानको योगदान अस्वीकार गर्दै भारतकै कारण बिजुली व्यवस्थापन सहज भएको दाबी गरेका थिए। उनको यो भनाइ व्यापक आलोचना भएको थियो। तर, घिसिङलाई हटाउने निर्णय भएकै दिन उनी मकवानपुरको दुर्गम चेपाङ बस्तीमा बिजुली बाल्ने कार्यक्रममा व्यस्त थिए।
राक्सिराङ गाउँपालिकाको खैराङमा घिसिङले ९ वटै वडामा बिजुली पुर्याउने कार्यक्रम उद्घाटन गरे। स्थानीय बासिन्दा, विशेष गरी चेपाङ समुदाय, पहिलो पटक आफ्नै घरमा उज्यालो देखेर उत्साहित भए। ७० वर्षीया तुलकुमारी चेपाङदेखि टेकबहादुर थिङ, नेमबहादुर लामा, र वीरमान थिङसम्मले जीवनकै नयाँ अनुभव पाए।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार घिसिङको पहलमा सबै वडामा विद्युत् सेवा विस्तार भएको हो। उनले ३०३ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेका थिए। गाउँपालिकाले यस योगदानको कदर गर्दै घिसिङलाई सम्मान पनि गर्यो।
घिसिङले उज्यालो गाउँ बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै काठका पोल विस्थापित गर्ने, नाङ्गा तारलाई सुरक्षित बनाउने, र दुर्गम क्षेत्रमा विद्युत् पुर्याउने योजनाबारे जानकारी दिए। साथै, उनले उज्यालो क्षणिक मात्र नभई शिक्षाको उज्यालोसमेत फैलिनुपर्ने बताए।
तर, जब यी प्रतिबद्धताहरूले जनताको मन जितिरहेका थिए, त्यही बेला सरकारको निर्णयले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्वबाट हटाइसकेको थियो।
प्रतिक्रिया